वर्मा गयो कर्मसँगै



‘वर्मा गयो कर्मसँगै’ भन्ने नेपाली उखान राजधानीको पाँचतारे होटेल हायातमा चरितार्थ भएको छ। उखान चरितार्थ भएको मिति हो– मंगलबार २८ असोज, अर्थात् हिजो।

पाठकलाई लाग्यो होला, गैरआवासीय नेपालीहरूको संघ एनआरएनएको दुईदिने सम्मेलनको पहिलो दिन त्यसको समुद्घाटन भएको प्रमाणित हुन सक्छ, यो उखान कसरी प्रमाणित हुने !

एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले सम्मेलनमा राजनीति भयो भनेर बहिष्कार गरेको प्रमाणित हुन सक्छ, विश्वका ८१ देशबाट सहभागी हुन आएका २ हजार ५ सयभन्दा बढी एनआरएनको उपस्थिति प्रमाणित हुन सक्छ, नयाँ नेतृत्व कुन राजनीतिक दलको हुने भन्ने गुटबन्दी चलेको पनि प्रमाणित होला, यसै गरी, नयाँ नेतृतव वामपन्थी वा प्रजातन्त्रवादी जसले जिते पनि ‘कु’ ले नै जित्ने पनि प्रमाणित हुन सक्छ, तर कर्मको पुष्टि कसरी हुन्छ !

यो ‘कु’ ले नै नयाँ नेतृत्वमा जित हातपार्ने भनेको चाहिँ के नि फेरि ? मपन्थीबाट कुमार पन्तको ‘कु’ आओस् कि प्रजातान्त्रिकबाट कुल आचार्यको ‘कु’ आओस्, हातलाग्ने उही ‘कु’ हो।

त्यसो भए ‘वर्मा गए कर्मसँगै’ भनेको चाहिँ के त ? कुरो के भने, प्रगति गर्न कुनै जमानामा एक कर्महारा नेपाली वर्मातिर लागेछ गाई पाल्न। यता केही प्रगति गर्न नसकेको ऊ वर्मामा चाहिँ निकै भाग्य पल्टिन्छ भन्ने भ्रममा रहेछ।

तर, त्यहाँ पनि सबै गाईबस्तु रोग लागेर स्वाहा भएछन्। अनि, भन्थ्यो रे– ‘वर्मा गए पनि मेरो कर्म त सँगै गएको रहेछ।’ ठीक त्यस्तै, विदेशका चिल्ला सडक र पेटीहरूमा निकै घुमे पनि फोहोर गर्ने बाँनीचाहिँ नेपालीको कर्मजस्तै टाँसिएको देखेर धरहराले नयाँ उखान बनायो– हायात गयो वाहियात सँगै !

प्रतिक्रिया दिनुहोस्