युद्धले कोख रित्तिएकी साबित्री सहयोगको आशामा बाँच्छिन्



कृष्ण उदास खनाल, हेटौंडा। हेटौंडा उपमहानगरपालिका–९ पूर्व पश्चिम राजमार्गसँगै जोडिएको छ। यही राजमार्गबाट करिब दुईसय मिटरभित्र एउटा सकुम्वासी बस्ती छ।

त्यही बस्तीमा एउटा बाँसले बारेको घर छ। अनि त्यही घरमा उमेरले सात दशक पुगेकी एक आमा बस्छिन् र साथमा उनकी १८ वर्षीया नातिनी पनि।

बाहिर बाँस र काठले बारेको घर, भित्र लिपपोत गरेर सफा राखिएको घर। अनि त्यही घर रुँग्दै गरेको अवस्थामा आइतबार ७० वर्षीया सावित्री दर्नाल भेटिइन्। मनमा कहिल्यै नमेटिने घाउ छ। तै पनि मुटुमाथि ढुंगा राखेर उनी हाँस्दै थिइन्।

अनि बाहिरबाट कोही नौला मान्छे आएपछि सत्कार गर्नुपर्छ भन्ने कुरा पनि सिकेकी छन्, उनले। उनले पाँच भाइ छोरालाई जन्म दिइन्। अहिले दशैं संघारमा नै आएको छ तर उनलाई दशैं, दशैं बनेर आएको जस्तो लाग्दैन।

पाँच भाइ छोरा जन्माएकी साबित्रीको काख अहिले रित्तो छ। श्रीमान्ले छाडेर गएको पनि दशक भइसकेको छ। अहिले उनलाई साथ दिने भनेको त्यही कान्छा छोरापट्टिकी नातिनी अस्मिसा छिन्। उनी भर्खर १८ वर्ष पुगिन्।

युद्धले रित्यायो कोख

२०४६ सालभन्दा अगाडि संसारमा नै आफू सबैभन्दा खुसी रहेको अनुभूति थियो, साबित्रीको तर त्यसपछि उनको जीवनमा यस्तो कालो बादल मडारियो कि जसले जीवनभर उनलाई ठूलो घाउ दियो।

२०४६ सालको आन्दोलनमा देशको भाग्य परिवर्तन गर्छौं भन्दै उनका जेठो छोरा काजी र माइलो छोरा भक्त घरबाट निस्किए। त्यसपछि उनीहरू कहिल्यै घर फर्किएनन्।

उनलाई यत्ति थाहा छ, छोरालाई तत्कालीन शासकले मार्यो। तर उनले आजसम्म आफ्ना छोराको लाशसमेत पाएकी छैनन्। २०५२ सालमा अर्को युद्ध भयो। काँइलो छोरा रंजित र कान्छो छोरा अमृत माओवादीमा लागे। त्यसपछि २०६० सालमा यी दुवै छोरा मारिए भन्ने खबर उनले सुनिन्।

तर आजसम्म लाश पाएकी छैनन्। चार छोरा गुमाए पनि साँइलो छोरा भीमको अनुहार हेरेर चित्त बुझाएकी साबित्री तीन वर्ष अगाडि साइलो छोराको पनि रोगका कारण मृत्यु भएपछि पूरै बेसहारा बनिन्।

अहिले उनलाई रोगले च्यापेको छ। बिहान बेलुका खाने अन्न छैन, कमाउन सक्दिनन्। रोएर मात्रै आफ्नो दिन बित्ने गरेकोमा झन् चाडवाडमा अरुका छोरा घर आउँदा उनको मुटुमा भक्कानो पर्ने गरेको पीडा उनले रुँदै नेपाल समाचारपत्रसँग पोखिन्।

नातिनीको कथा झन् कष्टकर

सावित्रीकी नातिनी १८ वर्षकी अस्मिसाले आफ्नो बाबुको अनुहार देखेकी पनि छैनन्। बाबु बेपत्ता भएपछि आमा अर्कैसँग हिँडिन्। उनलाई हजुरआमा साबित्रीले हुर्काइन्।

कक्षा ८ मा पढ्दै गर्दा दुईवर्ष अगाडि उनलाई उनकै ठूली फुपूले तथानाम गाली गरिन्। उनी पढेको विद्यालयमा गएर शिक्षक र साथीकै अगाडि उनको बेइज्जत गरिन्। त्यो सहन नसकेर अस्मिसाले विष खाइन्।

चार दिनको अस्पतालको उपचारपछि उनी घर आइन्। फुपूले आफूलाई ‘तैंले तेरो बाउ पनि खाइस्, मेरो आमा पनि खान्छेस्’ भन्दै गाली गर्ने गरेको अस्मिसाले बताइन्। स्कूलको नैतिक विषय पढाउने सरले पिटेका कारण र आफ्नो बेइज्जत भएका कारण स्कुल नगएको उनी बताउँछिन्।

सहयोगको अपेक्षा

बुढेश कालमा साहारा देलान् भन्ने छोरा नै मारिएपछि उनलाई अहिले सहयोगीको आश लागेको छ। उनी रोगी छिन्। उनलाई हालसम्म हुने हेटौंडा एफएमले तीजको दिनमा ५ हजार नगद सहयोग गरेको सम्झना छ।

त्यही दिन मकवानपुरकै एकजना व्यवसायीबाट ५ हजार नगद सहयोग पाएकी छिन्। त्यो पैसा औषधीमा खर्च भएको र २ हजार बचाएर दशैंका लागि चालम किनेको उनी सुनाउँछिन्।

प्रतिक्रिया दिनुहोस्