किताब लुकाएर पनि फुटबल खेलेँ

94
Shares

सरस्वती श्रेष्ठ
पूर्व राष्ट्रिय महिला फुटबल खेलाडी

जतिबेला महिला खेलाडीको लागि खेल्न गाह्रो थियो। अझ फुटबल भनेपछि नेपाली चेलीको लागि खेल्न निकै कठिनाइको समय थियो त्यो बेला। यसको बावजुद महिला फुटबल टोली बनेको थियो। २०४० सालमा पोखरामा भएको राष्ट्रिय खेलकुदको महिला फुटबल स्वर्ण जित्न सफल भयो वागमती अञ्चलले। सोही विजेता टोलीमध्ये एक सदस्य थिइन सरस्वती श्रेष्ठ। काठमाडौंको थापाथलीमा जन्मनुभएकी श्रेष्ठ हाल अखिल नेपाल फुटबल संघ (एन्फा) मा कर्मचारीको रूपमा कार्यरत हुनुहुन्छ। उहाँको फुटबलमा भएको देन अनुसार अहिले त उहाँ उमेर समूहको कुनै पनि राष्ट्रिय टोलीकी मेनेजर हुनुपर्ने हो। तर उहाँ विगत १२ वर्षदेखि एन्फामा कर्मचारीमा सीमित भइरहनुभएको छ। प्रस्तुत छ उहाँसँग नेपाल समाचारपत्रको लागि फिरोज राजोपाध्यायले विभिन्न विषयमा गरेको कुराकानीको सार संक्षेप:

अहिले के गर्दै हुनुहुन्छ ?

म अहिले एन्फामा कार्यरत छु। त्यस्तै १२ वर्ष भयो होला मैले एन्फामा कर्मचारीको रूपमा काम गरिरहेको।

तपाई एउटी खेलाडी कुनै टोलीकी मेनेजर हुनु पर्ने होइन र ?

मैले एन्फामा काम गर्नु नै ठूलो कुरा हो। अहिले मलाई नयाँ नयाँ जिम्मेबारी पनि दिइरहेको छ। एन्फाले हालै मात्र पनि मलाई उपमेयर कपका लागि म्याच कमिश्नर बनाइदिएको छ।

राष्ट्रिय महिला टोलीको जिम्मेबारी दिइयो भने सम्हाल्नु सक्नुहुन्छ तपाईले ?

सकिन्छ नि। किन नसक्नु। म मात्र किन यहाँ जमुना गुरुङ, अनु लामा, भगवती थापा, अस्मिता मानन्धर जस्ता पहिलेका खेलाडी पनि टोलीलाई सम्हाल्न सक्नुहुन्छ।

कतिको गाह्रो भयो तपाईले खेल्दा ?


मैले १७ वर्षको उमेरमा खेल्न शुरू गरेको थिएँ। गाह्रो निकै भयो। कहिले जुत्ता हुँदैन। कहिले घरमा थाहा होला भनेर डर मान्नु पर्ने अवस्था थियो।

घरमा थाहा भएपछि भने मलाई खेल्नु हुँदैन भनेर बुबा आमा, दाईले गाली गर्नुभयो।

लामो समयसम्म खेल्न कसरी संभव भयो त ?

मेरो त खेल्न नपाइने जस्तै भइसकेको थियो। भागी भागी किताब लुकाएर पनि खेल्न जाने गर्थे। स्कूलको जाँच पनि छाडेर मैले खेलेको थिए। यसैमा मेरो पढाई छुटेको पनि थियो। मलाई खेल्नु बाहेक अर्को सोच नहुँदा जेसुकै गरोस भनेर खेलेँ।

पछि यो कुरा थाहा भएर गणेश (थापा) दाईले मेरै घरमा आउनुभएर बुबालाई सम्झाउनु भएको थियो। मलाई देखाउनु भएर उनी त मेरी बहिनी जस्तै हो, खेलाउनु पर्छ भनेर गणेश दाईले भन्नुभएको थियो। यसपछि मेरो खेल्ने संभव भयो।

तपाईँको खेल जीवन कस्तो रह्यो ?

राम्रै भएको थियो। २०४० मा राष्ट्रिय खेलकुदको महिला फुटबलमा मैले वागमतीबाट खेलेको थिएँ। त्यतिबेला हाम्रो टोली पहिला भएको थियो। त्यसपछि अन्तर्राष्ट्रियस्तरमा हाम्रो टोली गोरखपुरमा दोस्रो भएको थियो।

धेरै वर्ष तपाईको खेल करियर भएन किन ?

छोरी मान्छे बीहे गर्नु नै पर्यो। मेरो बीहे भएपछि करिब १० वर्षसम्म खेल जीवनबाट टाढा हुनुपरेको थियो। फेरि गणेश दाईले खेलमै लाग्नु पर्छ भनेर जावलाखेल क्लबको महिला टोलीको प्रशिक्षक बनाइदिनुभएको थियो।

प्रशिक्षकको भुमिका कस्तो भयो त ?

छुट्टै अनुभव देखियो। खेलाडीलाई सिकाउन खेल्न भन्दा गाह«ो थियो। अझ बीहेपछि सांगादेखि जावलाखेलसम्म आउनु पनि त्यतिबेला मुश्किलकै कुरा थियो।

तपाईको पालो र हालको अवस्थामा के कति अन्तर देखिएको छ ?

हाम्रो पालामा सुविधा र प्रविधिको विकास भएका थिएनन्। अझ खेलाडी कम हुन्थ्यो। त्यतिबेला चेलीबेटी खेलमा लाग्न दिँदैनथ्यो। अहिले त्यस्तो अवस्था छैन।

अहिलेको महिला टोलीलाई सुविधादेखि खेल्ने, प्रशिक्षण, तलब जस्ता आवश्यक कुरा व्यवस्थित ढंगले भइरहेको छ। महिला टोलीले अहिले पनि राम्रो नतिजा ल्याएको छ। यो भनेको नेपाली महिला फुटबल भविष्यमा अझ यो भन्दा माथि पुग्ने संकेत हो।

अहिले आकर्षण बढेकै हो त नेपाल महिला फुटबलमा ?

बढेकै भन्नुपर्यो। अहिले प्रशिक्षणका लागि मात्रै विभिन्न ठाउँबाट खेलाडीहरू आइरहेका छन्। करिब २ सय जतिको हाराहारीमा छन्। उनीहरूलाई छनौट गरेर आगामी हुने विभिन्न प्रतियोगितामा खेलाउनको लागि टोली बनाउने योजना हो यो।

यतिका संख्यामा आउनु भनेको नेपालमा महिला फुटबलमा आकर्षण नै हो।

तपाईहरूको महिला फुटबलको विकासको लागि के के भावी योजना रहेका छन् ?

हाम्रो योजना भनेको महिला लिग गर्नु, उमेर समूहको प्रतियोगिता गर्नु हो। यसैका लागि अहिले छनोट भइरहेको पनि हो।

फुटबलमा लागेर तपाई सन्तुष्ट हुनुहुन्छ ?

सन्तुष्ट नै छुँ। एन्फाले जागिर दिएको छ। चीन, बंगलादेस, हङकङमा प्रतिनिधित्व गरेर जान पाएँ। अझ मैले शाही औषधिमा २४ वर्ष काम गरेँ। त्यहीबाट अन्तरसंस्थान प्रतियोगितामा सहभागिता भएको थिएँ।

सो प्रतियोगितामा मैले ब्याडमिन्टनमा, टेबलटेनिस खेलेर ट्रफी पनि जितेको थिएँ। यतिभन्दा बढी के चाहियो र मलाई ? चित्त दुखेको भनेको पढाई छाड्नु परेको मात्रै हो।

 

Skip This