नेकपा सचिवालय बैठकः झलनाथ खनाललाई पहिलो वरिष्ठता



मधुसूदन रायमाझी, काठमाडौंं ।  नेपाल कम्युनिस्ट पार्टीमा पार्टी एकीकरण भएपछि वरिष्ठताको जिम्मेवारी हेरफेर भएको छ। पार्टी एकीकरण हुँदा पहिलो नम्बरमा रहनुभएका वरिष्ठ नेता माधवकुमार नेपालको जिम्मेवारी फेरिएको छ।

नेकपाभित्र पहिलो वरिष्ठता दोस्रो वरीयतामा रहनुभएका झलनाथ खनाल बन्नुभएको छ। आइतबार बसेको सचिवालय बैठकले पार्टी एकीकरण गर्दा गरेको निर्णय सच्याउँदै खनाललाई पहिलो नम्बरको वरिष्ठ नेता बनाउने निर्णय गरेको हो। नेकपाका प्रवक्ता बैठकले वरीयतामा वरिष्ठ नेताको एक नम्बरमा खनाल र दुई नम्बरमा नेपाललाई राख्ने निर्णय गरेको जानकारी दिनुभयो।

जनवर्गीय संगठनका इन्चार्ज र सहइन्चार्जहरु तोकिए

तर, सचिवालयका एक सदस्यका अनुसार नेपालले वरीयतामा असन्तुष्टि जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेख्नुभएको छ। ती नेताका अनुसार नेपालले तीन नेतालाई सचिवालयमा लैजान प्रस्ताव गर्नुभएको थियो। तर, बैठकले उक्त प्रस्ताव अस्वीकृत गरेपछि सचिवालयको निर्णयप्रति नेपालले असन्तुष्टि जनाउनुभएको छ।

वरिष्ठ नेता खनालले भने आफूलाई पार्टीले न्याय दिएको बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘मैले दृढतापूर्वक आफू अन्यायमा परेको कुराको सामना गरें, निकै ठूलो संघर्षपछि पार्टीले न्याय दिएको छ।’

वरिष्ठ नेता नेपालले त असहमति जनाउनुभयो नि भन्ने जिज्ञाशामा खनालले पार्टीले सर्वसम्मत ढंगबाट निर्णय गरेको दाबी गर्नुभयो।

माधवकुमार नेपालको ‘नोट अफ डिसेन्ट’

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकले २२ वटा जनवर्गीय संगठनको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको नाम टुंगो लगाएको छ। विशेष कमिटीको पनि जिम्मेवारी बाँडफाँड गरेको छ। बैठकले उपत्यका विशेष कमिटीको इन्चार्जमा लीलामणि पोखरेल, सहइन्चार्जमा भानुभक्त ढकाल र अरूण नेपाल, अध्यक्ष राजन भट्टराई र सचिव लेखनाथ न्यौपाने तोकिनुभएको छ।

यसै गरी युवा विद्यार्थी विशेष कमिटीको इन्चार्जमा माधव ढुंगेल, सहइन्चार्जमा कृष्ण केसी, अध्यक्ष रमेश मल्ल, सचिव सुनीता बराल चयन हुनुभएको छ। मजदुर विशेष जिल्ला समितिको इन्चार्ज बिना श्रेष्ठ, सहइन्चार्जमा कुमार पोखरेल, अध्यक्ष जगत सिम्खडा र सचिवमा नरनाथ लुइँटेल तोकिनुभएको छ भने पेसागत विशेष जिल्ला कमिटीको इन्चार्जमा केशवप्रसाद नेपाल, सहइन्चार्जमा प्रमेख खनाल, अध्यक्ष प्रेम पराजुली र सचिव कृष्णराज केसी चयन हुनुभएको छ।

उद्योगी व्यवसायी विशेष कमिटीमा इन्चार्ज पार्वत गुरुङ, सहइन्चार्जमा शशि श्रेष्ठ र सचिव चन्द्र रिजाल हुनुहुन्छ भने केन्द्रीय सम्पर्क समन्वय कमिटी इन्चार्ज छविलाल विश्वकर्मा र सहइन्चार्जमा डिलाराम आचार्य र झक्कु सुवेदी तोकिनुभएको छ।

जनवर्गीय संगठनतर्फ ट्रेड युनियनको इन्चार्ज जयपुरी घर्ती र सहइन्चार्ज विनोद श्रेष्ठ, किसानको इन्चार्ज वामदेव गौतम र सहइन्चार्ज सुनील मानन्धर तोकिनुभएको छ।

महिलाको इन्चार्जमा गोमा देवकोटा र सह–इन्चार्जमा कमला रोक्का तथा युवामा इन्चार्ज महेश बस्नेत र सह–इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशिखा’, विद्यार्थीमा इन्चार्ज हितमान शाक्य र सह–इन्चार्ज विनोद ढकाल, वुद्धिजीवीको इन्चार्जमा अग्नि सापकोटा र सह–इन्चार्जमा टंक, पेशागत महासंघको इन्चार्जमा पम्फा भुसाल र सह–इन्चार्जमा विश्वनाथ प्याकुरेल तोकिनुभएको छ।

यसैगरी बैठकले प्रेस संगठन नेपालको इन्चार्जमा राजेन्द्र गौतम, सह–इन्चार्जमा ओम शर्मालाई तोकेको छ। पार्टी एकताको करिब १५ महिनापछि नेकपाको सचिवालय बैठकले नेताहरूको जिम्मेवारी बाडफाड गरेको छ। यसअघि बसेको बैठकले पार्टीको ३२ विभागको प्रमुख र उपप्रमुखको नाम टुंगो लगाएको थियो।

प्रतिक्रिया दिनुहोस्