काठमाडौँ।
राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम सञ्चालनमा रहेको राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई गृह मन्त्रालयले निलम्बन गरेको छ।
मन्त्रालयले दिएका निर्देशन पटक–पटक पालना नगरेको तथा संगठनका पदाधिकारीले स्वीकृत विधान र संस्थाको मूल उद्देश्यविपरीत गतिविधि गरेको भन्दै अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरिएको हो।
गृह मन्त्रालयद्वारा जारी सार्वजनिक सूचनाअनुसार, यस विषयमा सम्बन्धित सरोकारवाला पक्षसँग गत असोज २३ गते छलफल गरिएको थियो। उक्त छलफलमा राष्ट्रिय निर्देशन ऐन तथा मन्त्रालयले २०८२ मंसिर १२ गते जारी गरेको निर्देशनबमोजिम कार्य गर्न आग्रह गरिएको थियो।
तर, मन्त्रालयले दिएको निर्देशन पालना नभएपछि राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम जारी निर्देशनको अवज्ञा गरेको भन्दै सोही ऐनको दफा ६ को उपदफा (२) बमोजिम संस्थालाई निलम्बन गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले सूचना जारी गर्दै अब संस्थाको नाममा कुनै पनि समूह वा गुटबाट गरिने सम्पूर्ण गतिविधि गैरकानुनी हुने स्पष्ट पारेको छ। निलम्बनको निर्णयविपरीत गतिविधि सञ्चालन गरेमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत मन्त्रालयले दिएको छ।











प्रतिक्रिया