काठमाडौँ।
नेपाल ताइवान संघले भोटेकोशी बाढीपीडितको राहतका लागि प्रधानमन्त्री राहत कोषमा ३२ लाख ४ हजार ४६५ रुपैयाँ सहयोग गरेको छ। संघले आज युवा तथा श्रममन्त्री रामजी यादवलाई सहयोग रकमको डमी चेक हस्तान्तरण गरेको हो। संघले उक्त रकम प्रधानमन्त्री राहत कोषको बैंक खातामा जम्मा गरिसकेको जनाएको छ।
ताइवानमा रहेका नेपालीहरूले संकलन गरेको उक्त सहयोग रकम संघका तर्फबाट उपाध्यक्ष वीरेन्द्रबहादुर ताम्राकारले मन्त्रालयमा आयोजित कार्यक्रममा हस्तान्तरण गर्नुभएको हो।
रकम हस्तान्तरण गर्दै उपाध्यक्ष ताम्राकारले ताइवानमा बसोबास गर्ने नेपालीहरूको तर्फबाट रसुवा तथा भोटेकोशी क्षेत्रका बाढीपीडितका लागि सहयोग गरिएको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘ताइवानमा रहेका हामी नेपालीहरूले नेपालमा कुनै पनि समस्या पर्दा सधैँ आर्थिक सहयोग गर्दै आएका छौँ। दुर्घटनामा परेका नेपालीहरूको उपचारका लागि पनि नेपाली भएकै नाताले सहयोग गर्दै आएका छौँ। दुर्घटनामा परी मृत्यु भएकाहरूका परिवारलाई समेत सहयोग गरेका छौँ।’
ताइवानमा रहेका करिब २०० नेपालीले आफ्नो क्षमताअनुसार नेपाललाई सहयोग गर्दै आएको उहाँले बताउनुभयो। यस्तो सहयोग निरन्तर जारी रहने उहाँको भनाइ थियो।
२०७२ सालको भूकम्पका बेला पनि संघले सहयोग गरेको थियो। भूकम्पबाट ध्वस्त भएको सिन्धुपाल्चोकको एक विद्यालय पुनर्निर्माण गर्नुका साथै विद्यार्थी तथा पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको उहाँले जानकारी दिनुभयो।

नेपालमा विपत्ति तथा समस्या पर्दा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘हामी नेपालीलाई कुनै पनि समस्या पर्दा समाधानका लागि सधैँ लागिरहेका छौँ। यस किसिमको सहयोगलाई निरन्तरता दिनेछौँ।’
रकम हस्तान्तरण कार्यक्रममा संघका सल्लाहकार राजेश श्रेष्ठ, सदस्यहरू समिर मानन्धर, कर्मा धिनबुप, शंकर महर्जन, सुबोध प्रधान, प्रदीप श्रेष्ठ, प्रतिक श्रेष्ठ तथा ताइवानी नागरिक चाङक्यु लगायतको उपस्थिति थियो।
ताइवानमा रहेका नेपालीका समस्या समाधान गर्न आग्रह
यसैबीच, नेपाल ताइवान संघले ताइवानमा बसोबास गर्ने नेपाली नागरिकहरूले भोग्नुपरेका प्रशासनिक तथा सरकारी सेवा प्राप्तिसम्बन्धी समस्या समाधान गर्न मन्त्री यादवको ध्यानाकर्षण गराएको छ।

संघले मन्त्री यादवलाई बुझाएको ध्यानाकर्षणपत्रमा नेपाल सरकारको एक चीन नीतिका कारण ताइवानमा बसोबास गर्ने नेपाली नागरिकहरूले नेपालसँग सम्बन्धित विभिन्न सरकारी तथा प्रशासनिक काम गर्दा अनावश्यक कठिनाइ र असहजता भोग्नुपरेको उल्लेख गरेको छ।
ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘नेपाल सरकारले अवलम्बन गर्दै आएको हाम्रो छिमेकी मित्रराष्ट्रको एक चीन नीतिका कारण ताइवानलाई कूटनीतिक तथा राजनीतिक दृष्टिकोणबाट संवेदनशील रूपमा लिइँदै आएको हामीले बुझेका छौँ। तर, यस नीतिको प्रभावस्वरूप ताइवानमा बसोबास गर्ने नेपाली नागरिकहरूले नेपालसँग सम्बन्धित विभिन्न सरकारी तथा प्रशासनिक काम गर्दा अनावश्यक कठिनाइ र असहजता भोग्नुपरेको अवस्था छ।’
संघले आफूहरू रोजगारी, व्यवसाय तथा विभिन्न पेसा र अध्ययनका सिलसिलामा ताइवानमा बसोबास गर्दै आएको नेपाली नागरिक भएको उल्लेख गर्दै नेपालसँगको सम्बन्धलाई आत्मीयताका साथ जोडेर राख्न चाहेको जनाएको छ।

ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘हाम्रो भौगोलिक बसोबास जहाँ भए पनि हाम्रो राष्ट्रिय पहिचान नेपाली नै हो। हामी नेपालको संविधान, कानुन र राष्ट्रिय हितप्रति सम्मान राख्दछौँ र नेपालसँगको आफ्नो सम्बन्धलाई आत्मीयताका साथ जोडेर राख्न चाहन्छौँ। नेपालको परराष्ट्र नीतिलाई सम्मान गर्दै हामीमाथि पनि अन्य देशमा बसोबास गर्ने नेपाली नागरिकसरह समान व्यवहार गरियोस् भन्ने हाम्रो विनम्र अनुरोध छ।’
नेपाल सरकारको विद्यमान एक चीन नीतिलाई असर नपर्ने गरी ताइवानमा बसोबास गर्ने नेपाली नागरिकका हकमा आवश्यक प्रशासनिक तथा नीतिगत व्यवस्था मिलाउन पनि संघले आग्रह गरेको छ।
नेपालसँग सम्बन्धित कागजात प्रमाणीकरण, सरकारी सिफारिसलगायत आधिकारिक कामहरू सहज, सरल र विभेदरहित रूपमा सम्पन्न गर्न सकिने वातावरण बनाइदिन संघले सरकारसँग अनुरोध गरेको छ।

ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘हामी ताइवानमा बसेका नेपाली हौँ, हामी पनि नेपालको अभिन्न हिस्सा हौँ। हाम्रो बसोबासको स्थानका आधारमा हामीले आफ्नै देशको सरकारी सेवाबाट वञ्चित वा विभेदित भएको अनुभूति गर्न नपरोस् भन्ने नै हाम्रो मुख्य अपेक्षा हो।’
नेपाल सरकारले यस विषयलाई सकारात्मक रूपमा लिई आवश्यक पहल तथा नीतिगत सहजीकरण गर्ने विश्वाससमेत संघले व्यक्त गरेको छ।











प्रतिक्रिया