एनआईसी एशिया बैंकद्वारा जाल्पा जन माध्यमिक विद्यालयलाई स्मार्ट डिजिटल बोर्ड सहयोग


काठमाडौँ।

एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत उदयपुरको चौदण्डीगढी नगरपालिका–४, बसाहा, अजिंगरेस्थित श्री जाल्पा जन माध्यमिक विद्यालयलाई स्मार्ट डिजिटल बोर्ड सहयोग गरेको छ।

विद्यार्थीहरूको पठनपाठनलाई सहज, सरल र प्रविधिमैत्री बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले बैंकले विद्यालयलाई एक थान स्मार्ट डिजिटल बोर्ड उपलब्ध गराएको हो।

बैंकका अनुसार कात्तिक १२ गते आयोजित विशेष कार्यक्रममा बैंकका लहान सर्कल प्रमुख लेखराज पौडेल र गाईघाट शाखा प्रमुख तेजेन्द्र राईले संयुक्त रूपमा विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार ओझालाई उक्त डिजिटल बोर्ड हस्तान्तरण गरेका हुन्।

हाल विद्यालयमा २२२ भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। बैंकले उपलब्ध गराएको स्मार्ट डिजिटल बोर्डले विद्यार्थीहरूको सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउन तथा शिक्षण विधिलाई प्रविधिमैत्री बनाउन सहयोग पुग्ने विश्वास लिएको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा क्षेत्रको विकास र गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सामग्री हस्तान्तरण गरेको जनाएको छ।