धेरै कर तिर्नेमा मदिराजन्य र सहकारी



मोतीराम तिमल्सिना, काभ्रे ।  आन्तरिक राजस्व कार्यालय धुलिखेलमा संकलन भएको २ अर्ब ३५ करोड राजस्वमध्ये २१ प्रतिशत राजस्व मदिराजन्य शीर्षकबाट संकलन भएको छ। मदिराजन्यपछि धेरै कर तिर्नेमा सहकारी देखिएका छन्।

मदिराजन्य शीर्षकमा आय करवापत ८८ लाख ७२ हजार ७ सय ५३, घर भाडावापत २ लाख ६८ हजार ६ सय ६७ संकलन भएको छ। मूल्य अभिवृद्धि करवापत ६ करोड ७३ लाख ८० हजार ४ सय १, अन्तःशुल्क वापत जम्मा २९ करोड ९० लाख ६० हजार ६ सय ९८ रुपियाँ जम्मा भएको छ। राजस्व संकलनमा विशेष योगदान पु¥याएको मदिराजन्य क्षेत्रलाई अझै कडाई गर्ने हो भने करोडौ रकम संकलन हुने व्यवसायीले बताएका छन्।
मदिराजन्यपछि कर धेरै तिर्नेमा सहकारी क्षेत्र रहेको छ। सहकारी क्षेत्रको १४ प्रतिशत योगदान रहेको छ। सहकारीहरूले आय कर वापत ८ करोड १७ लाख ७३ हजार २ सय ८५ रुपियाँ तिरेका छन् भने घर भाडा वापत १५ लाख ८६ हजार रुपियाँ संकलन भएको छ। स्थानीय सरकारले घर भाडावापत कर लिने भए पनि स्थानीय सरकारले लिनुभन्दा पहिलाको घर भाडावापतको कर राजस्व कार्यालयमा दाखिला भएको थियो।

सहकारीमा ब्याजवापत ११ करोड ३७ लाख ७ सय २६ रुपियाँ जम्मा भएको छ। मूल्य अभिवृद्धि करवापत ७ लाख २९ हजार ९ सय ३३ रुपियाँ कर बुझाएका छन्। सहकारी क्षेत्रबाट विभिन्न शीर्षक वापत १९ करोड ७७ लाख ९७ हजार १ सय रुपियाँ कर दाखिला भएको छ।

सहकारीकै हाराहारीमा व्यापारिक क्षेत्रबाट १३ प्रतिशत कर दाखिला गरिएको छ। ७ करोड ७७ लाख ८० हजार ९ सय ७८ रुपियाँ आय करवापत जम्मा भएको छ भने ३४ लाख ३२ हजार ६ सय ९३ रुपियाँ घर भाडावापत जम्मा गरेको व्यापारिक क्षेत्रले ब्याजवापत १० हजार ३ सय ५७ रुपियाँ, मूल्य अभिवृद्धि करवापत १० करोड २३ लाख ६६ हजार २ सय १८ रुपियाँ, अन्तःशुल्क वापत ३६ लाख ५३ हजार ४ सय ३० रुपियाँसमेत गरी १८ करोड ७२ लाख ४३ हजार ६ सय ७५ रुपियाँ कर दाखिला गरेको छ। ‘विभिन्न शीर्षकमध्ये मदिराजन्य शीर्षकमा धेरै संकलन भएको छ’–आन्तरिक राजस्व कार्यालय काभ्रेका प्रमुख डम्मरुप्रसाद पराजुलीले बताउनुभयो।

काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लाको कर धुलिखेलमा रहेको आन्तरिक राजस्व कार्यालयमा जम्मा हुने गरेको छ। आन्तरिक राजस्व कार्यालय धुलिखेलमा आर्थिक वर्ष २०७५÷०७६ मा २ अर्ब ३५ करोड राजस्व संकलन भएको छ।

संकलित करमा मदिराजन्य क्षेत्रबाट २१, सहकारी क्षेत्रबाट १४, व्यापारिक क्षेत्रबाट १३, लघुवित्त संस्था, निर्माण सेवा र रोडा ढुंगा तथा क्रसरबाट ९÷९, होटल क्षेत्रबाट ६, ठेक्कापट्टा र अन्य क्षेत्रबाट ५÷५, उद्योगबाट ४, पेट्रोलियम पदार्थ सहितको क्षेत्रबाट ३ र अस्पताल क्षेत्र, इँट्टा उद्योग र शिक्षा क्षेत्रबाट १÷१ प्रतिशत कर रकम दाखिला भएको छ।

आन्तरिक राजस्व कार्यालय धुलिखेलमा सरकारले प्यान अनिवार्य गरेपछि सेवा लिनेहरूको भीड लागेका छ। बजेट प्रस्तुत गरेदेखि निरन्तर प्यान नम्वर लिने बढेका छन्। कार्यालयमा ७ हजारभन्दा बढी सेवाग्रही थपिएका छन्।

प्रतिक्रिया दिनुहोस्