काठमाडौं ।
सञ्चारमाध्यमका कार्यालयमै प्रवेश गरेर प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिन थालेपछि प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ। नेपाल प्रेसका पत्रकार विश्वमणी सुबेदी र मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक सोबराज बराललाई प्रहरीले उनीहरूकै कार्यालयबाट नियन्त्रणमा लिएको छ। यसैबीच नयाँ पत्रिका दैनिकको कार्यालयमा पनि प्रहरी पुगेको छ।
प्राप्त विवरणअनुसार तीन जना व्यक्ति बिहान नेपाल प्रेसको समाचार कक्षमा प्रवेश गरी पत्रकार सुबेदीलाई नियन्त्रणमा लिएका थिए। उनीहरू कार्यालयको मूल गेटमा रहेका सुरक्षागार्डलाई साथी भेट्न आएको भन्दै भित्र छिरेका थिए। समाचार कक्षमा पुगेपछि उनीहरूले समाचारको विषयमा छलफल गर्नुपर्ने भन्दै सुबेदीलाई आफूसँग जान आग्रह गरेका थिए।
नेपाल प्रेसको समाचार कक्षमा रहेका पत्रकार राजाराम नेउपाननेका अनुसार उनीहरूले आफूहरू अपराध अनुसन्धान कार्यालयबाट आएको र आईजीपीको आदेश रहेको बताएका थिए। तर, पक्राउ पुर्जी भने दिएका थिएनन्।
सुबेदीले छलफलका लागि जानुपर्ने भए पनि आफ्नै मोटरसाइकलमा जाने बताएका थिए। तर, प्रहरीले त्यसको अनुमति नदिई उनलाई प्रहरीको गाडीमा राखेर लगेको बताइएको छ।
नेपाल प्रेसमा प्रकाशित प्रहरी महानिरीक्षक (आईजीपी) माथि राजीनामाको दबाबसम्बन्धी समाचारको अनुसन्धानका लागि सुबेदीलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतको दाबी छ। उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले साइबर ब्युरोलाई जिम्मा लगाएको बताइएको छ।
यसैगरी प्रहरीले आजै मोटिभेट न्युजका निर्देशक तथा प्रधान सम्पादक बराललाई पनि काठमाडौंको बानेश्वरस्थित बिजुली बजारमा रहेको आफ्नै कार्यालयबाट नियन्त्रणमा लिएको छ। सादा पोसाकमा पुगेका प्रहरीले कार्यालयमा केही कुरा गर्नुपर्ने भन्दै उनलाई साथमा लगेको बताइएको छ। बराललाई चेकजाँचका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखिएको छ। उनलाई पक्राउ गर्नुको कारण भने खुलाइएको छैन।
उता नयाँ पत्रिका दैनिकको कार्यालयमा पनि प्रहरी पुगेको खबर प्राप्त भएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट आएको भन्दै सादा पोसाकमा पाँच जना प्रहरी केहीबेरअघि नयाँ पत्रिकाको कार्यालय पुगेका थिए। नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तका अनुसार प्रहरीले संवाददाता नवराज मैनालीलाई साइबर ब्युरोमा लैजानुपर्ने भन्दै कार्यालयमै बसिरहेको बताएका छन् ।
तीन सञ्चारमाध्यममा पत्रकारलाई नियन्त्रणमा लिने वा लैजान खोज्ने घटनाले समाचार कक्षभित्रै प्रहरी प्रवेश गरेर पत्रकारमाथि अनुसन्धान तथा नियन्त्रणको प्रक्रिया अघि बढाइएको देखिएको छ। पक्राउको कारण, कानुनी आधार र अनुसन्धानको प्रकृतिबारे सम्बन्धित प्रहरी निकायबाट स्पष्ट आधिकारिक जानकारी सार्वजनिक भइसकेको छैन।
पत्रकारलाई पक्राउ वा अनुसन्धानका लागि नियन्त्रणमा लिँदा कानुनी प्रक्रिया, पक्राउको आधार र सम्बन्धित व्यक्तिलाई जानकारी गराउने दायित्व महत्त्वपूर्ण हुन्छ। समाचारमा प्रकाशित विषयप्रति अनुसन्धान गर्नुपर्ने भए पनि त्यसले पत्रकारको पेशागत स्वतन्त्रता, स्रोतको गोपनीयता र प्रेस स्वतन्त्रतामा प्रतिकूल असर नपर्ने गरी कानुनसम्मत प्रक्रिया अपनाउनुपर्ने हुन्छ।
नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको छ। समाचारको विषयमा प्रश्न उठेमा त्यसको कानुनी तथा तथ्यगत परीक्षण हुन सक्छ, तर पत्रकारलाई नियन्त्रणमा लिने प्रक्रियासमेत पारदर्शी, प्रमाणमा आधारित र कानुनसम्मत हुन आवश्यक छ।
नेपाल पत्रकार महासंघ तथा सम्बन्धित सञ्चारमाध्यमको आधिकारिक प्रतिक्रिया र प्रहरीको विस्तृत धारणा प्राप्त भएपछि घटनाबारे थप विवरण स्पष्ट हुनेछन्।











प्रतिक्रिया