नेपाल विद्युत् प्राधिकरण संघीय संरचनामा 



नेपाल समाचारपत्र, काठमाडौं

नेपाल विद्युत् प्राधिकरणले संघीय संरचनाअनुसार कार्यालयको व्यवस्थापन गरेको छ। प्राधिकरणले वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका क्षेत्रीय कार्यालय तथा वितरण केन्द्रलाई संघीय संरचनाअनुरुप समायोजन गरेको हो।

प्राधिकरणले क्षेत्रीय कार्यालयलाई प्रादेशिक कार्यालयका रुपमा रुपान्तरण गरेको छ। प्राधिकरणले परिपत्र जारी गर्दै कार्यालय समायोजन गर्ने निर्णय कार्यान्वयमा ल्याएको हो।

प्राधिकरणले क्षेत्रीय कार्यालयको रुपमा रहेका हैटौडा र नेपालगन्जलाई क्रमशः प्रदेश तीन र पाँचको डिभिजन कार्यालयमा परिणत गरेको छ। यसअघि प्रदेश तीनमा काठमाडौं तथा हेटौडा र प्रदेश नम्बर पाँचमा बुटवल तथा नेपालगन्जमा क्षेत्रीय कार्यालय थिए।
प्रदेश १ को प्रदेशिक कार्यालय विराटनगरअन्तर्गत २४ वितरण केन्द्र रहेका छन्।
यसअघि जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गत रहेका उदयपुर, ओखलढुंगा र दिक्तेल वितरण केन्द्रलाई १ नं. प्रादेशिक कार्यालयमा समायोजन गरेको छ। प्रदेश २ को प्रादेशिक कार्यालय जनकपुरअन्तर्गत २३ वितरण केन्द्र रहेका छन्।

यसअघि हेटौडा क्षेत्रीय कार्यालयअन्तर्गत रहेका विरगन्ज, सिमारा, कलैया, गौर, चन्द्रनिगाहापुर र पोखरीया वितरण केन्द्रलाई २ नं प्रादेशिक कार्यालयमा समायोजन गरिएको छ।

जनकपुर क्षेत्रीय कार्यालय अन्तर्गत रहेको सिन्धुली वितरण केन्द्रलाई हेटौडा डिभिजन कार्यालय अन्तर्गत रहने व्यवस्था गरिएको छ।
त्यस्तै बुटवल क्षेत्रीय कार्यालयअन्तर्गत रहेको कावासोती वितरण केन्द्र गण्डकी प्रादेशिक कार्यालयअन्तर्गत रहने व्यवस्था गरिएको छ। कर्णालीको सुर्खेतअन्गर्तत १० र सुदूरपश्चिमको अत्तरिया प्रादेशिक कार्यालयअन्तर्गत १२ वितरण केन्द्र रहने छन्।

प्रतिक्रिया दिनुहोस्