माझगाउँको पहिरोले १ सय ५० घर जोखिममा



नेपाल समाचारपत्र, गोरखा

जिल्लाको आरुघाट गाउँपालिका–१ मान्बुमा पहिरो जाँदा गाउँ नै जोखिममा परेको छ।
स्थानीय ताकुनडाँडामा गएको पहिरोले माझगाउँका झन्डै १ सय ५० घरधुरी जोखिममा परेको स्थानीय जितबहादुर गुरुङले जानकारी दिनुभयो।

‘भूकम्प गएको वर्ष सामान्य पहिरो खसेको थियो। त्यसपछि केही भएको थिएन’, उहाँले भन्नुभयो– ‘यो वर्ष असार २० र २२ गतेबाट ढुंगा माटो झर्न थाल्यो, साउनमा ४ र ५ गतेका दिन झरी परेपछि त गाउँसम्मै पहिरो आइपुग्यो।’

गाउँभन्दा धेरैमाथि टाकुनडाँडाको टुप्पामा पहिरो गएपनि हालसम्म टेपचेत टोल, लामाथो टोल, फर्सी टोललगायतका बस्तीमा प्रत्यक्ष असर पुर्याइसकेको छ। पहिरोले आधा दर्जन गाईवस्तु र भेडा बाख्रा राख्ने गोठसमेत बगाइसकेको छ।

पानी परेको बखत बस्ती सम्म लेदोमाटो आउन थालेपछि स्थानीय त्रसित भएका छन्। ‘पहिरो झरे पनि वनमै हराएको थियो, बिस्तारै खर्कमा रहेका गोठ पुर्न थाल्यो,’ उहाँले भन्नुभयो, ‘हुँदा हुँदै अहिले गाउँमाथि रहेको बारी समेत पुरिसकेको छ। पानी परेको बेला घर घरमै भलले लेदो माटो ल्याउँछ।’

पहिरोले दुःख दिएपछि त्यहाँ रहेका गोठहरूलाई सुरक्षित स्थानमा सारिएको छ। स्थानीयले सय मिटर पर रहेको बारीमा त्रिपाल हालेर गाईबाख्रा सुरक्षित स्थानमा सारेका छन्। भूकम्प गएको ४ वर्ष पछि लगातार पहिरो जान थालेपछि स्थानीय असुरक्षित भएका छन्।

यता आरुघाट गाउँपालिका अध्यक्ष पूर्णबहादुर दाहालले साबधानी अपनाउन स्थानीयलाई अनुरोध गर्नुभएको छ। ‘यो पहिरोको बारेमा गाउँपालिकामा कुनै सूचना वा जानकारी आएको थिएन, मैले पनि भर्खरै थाहा पाएको हुँ’, उहाँले भन्नुभयो– ‘वडा अध्यक्षज्यूलाई तत्काल स्थलगत अनुगमन गरेर प्रतिवेदन पेस गर्न भनेको छु। त्यतिन्जेलसम्म सुरिक्षत स्थानमा बस्न सबैलाई अनुरोध छ।’

वडा अध्यक्ष शेरबहादुर घलेलाई २ दिनभित्र स्थलगत अनुगमन गरी गाउँपालिकामा प्रतिवेदन बुझाउन निर्देशन दिइएको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्