जथाभावी खनिएका कच्ची सडकले सिङ्गो गाउँ नै पहिरोको जोखिममा



बैतडी । वर्षासंगै बैतडीका विभिन्न स्थानमा खनिएका कच्ची सडकहरुले क्षति पुर्याउन थालेका छन् । जिल्लाका धेरैजसो स्थानमा कच्ची सडकहरुले बस्ती नै विस्थापित गर्नुपर्ने अवस्था आएको स्थानीयहरुले बताएका छन् । जिल्लाको सुर्नया गाउँपालिका वडा नं ८ मल्लोढोलेमा गएराती पहिरो खस्दा एक घरपरिवार पूर्ण रुपमा विस्थापित भएका छन् भने एक गाउँ नै पहिरोको जोखिममा परेको छ ।

सतबाँझ श्रीभावर सडकखण्ड अन्तर्गत ढोल्यामोडदेखि वडा कार्यालय सम्म खनिएको सडकमा पहिरो खस्दा स्थानीय अम्मरबहादुर बोहराको घरमा क्षति पुगेको त्यहाँबाट प्रेमबहादुर बोहराले जानकारी दिनुभयो । पहिरो खस्दा बोहराको घरभित्र रहेका अन्नपात नष्ट भएका छन् । बोहरा परिवार अहिले छिमेकीको घरमा बसीरहेका छन् । बस्तीमाथिबाट खनिएको सडकमा पहिरो खस्दा अम्मरको परिवार पूर्ण रुपमा विस्थापित भएको उहाँले बताउनुभयो ।

यस्तै रामबहादुर बोहरा,बीरपल बोहरा, धौलसिंह बोहरा, जहरे बोहरा, घुम्रा बोहराको घर पहिरोको उच्च जोखिममा रहेको छ । सोही ठाउँमा पुरै दलित बस्ती पनि पहिरोको जोखिममा रहेको उहाँले बताउनुभयो । भिरालो जमीन भएका कारण सडकमा खनिएको माटो र सडकमा खसेको पहिरो गाउँमा पुगेको बोहराले बताउनुभयो । पहिरोको कारण बाटो समेत अवरुद्ध भएको उहाँको भनाई छ ।

सडकमा खसेको पहिरोका कारण सुर्नया गाउँपालिका वडा नं ८ मल्लोढोलेका ६० घरपरिवार बढी जोखिममा रहेका स्थानीय भानबहादुर बोहराले बताउनुभयो । गएराती आएको पहिरोले एक घर विस्थापित भएको र बस्ती नै पहिरोको जोखिममा परेको सुर्नया गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष आनन्दसिंह बोहराले बताउनुभयो । प्रभावित परिवारलाई राहतका लागि आफूले पहल गर्ने उहाँले बताउनुभयो ।

खानेपानी पाइप बगेपछि समस्या

यस्तै पहिराको कारण खानेपानी पाइप बगेपछि बैतडीको दोगडाकेदार गाउँपालिका ८ बिसौना दलित बस्तीका बासिन्दालाई समस्या भएको छ । केही दिन अघि डोलमा खसेको पहिरोले खानेपानी पाइप बगाएपछि बिसौना दलित बस्तीमा खानेपानीको अभाव भएको स्थानीय रामदत्त जोशीले जानकारी दिनुभयो । डोलबस्तीमा प्रत्येक बर्ष पहिरो खस्ने र पहिरोले घर तथा खेती योग्य जमीन बगाउँदै आएको उहाँले जानकारी दिनुभयो ।

पहिरोले डोलबस्तीको गौराखलो समेत बगाएको जोशीले बताउनुभयो । डोलबस्तीमा २०१९ सालदेखि पहिरो खस्न थालेको भएपनि बस्ती व्यवस्थापन समेत हुन सकेको छैन् । राजा विरेन्द्रको पालामा बस्ती सार्नुपर्ने निर्णय भएको भएपनि अहिले सम्म सो निर्णय कार्यान्वयन हुन सकेको छैन् ।

डोलमा आर्थिक अवस्था मजबुत भएकाहरुले बसाईसराई गरिसकेको भएपनि कमजोर आर्थिक अवस्था भएकाहरु पहिरोको जोखिम मोलेर बस्दै आएका स्थानीय देवदत्त जोशीले बताउनुभयो । पहिरोले बर्षेनी जमीन र घर बगाउने गरेको भएपनि कतैबाट राहत मिल्न नसकेको उहाँले गुनासो गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्