रेल स्टेसन निर्माण सम्पन्न नहुँदै भत्कियो



नेपाल समाचारपत्र, विराटनगर ।
भारत सरकारको लगानीमा विराटनगरमा निर्माणाधिन रेलस्टेशन निर्माण सम्पन्न नहुंदै पर्खाल भत्किएको छ । यसअघि असिनाले क्षति पुगेको पर्खाल बाढी आएपछि भत्किएको हो ।

विराटनगर १८ नेपाल कस्टम यार्डमा भारत सरकारको लगानीमा निर्माणाधिन रेल स्टेशनको पर्खाल केहिदिन अघि आएको लगातारको पानीका कारण भास्सिएर भत्किएको हो । सो क्रममा रेल स्टेशनको पश्चिमतर्फ १६० मिटर र पुर्वतर्फ ४० मिटर गरेर २ सय मिटर पर्खाल भत्किएको छ । यसअघि गएको चैत्र महिनाको दोश्रो साता परेको असिना पानीका कारण समेत सो पर्खालमा क्षति पुगेको थियो ।

त्यतिखेर परेको असिनाका कारण पर्खालको प्लास्टर उप्किएर क्षतविक्षत भएको थियो । स्थानियवासीले गुणस्तरहीन निर्माण कार्य भएको गुनासो गरेपछि त्यहां पुगेका पत्रकारहरुले समेत गुणस्तरहीन निर्माण कार्य भएको प्रमाण फेला पारेको थियो । अहिले ढलेका पर्खाल त्यतिखेर हातको औंलाले सामान्य कोट्याउदा समेत प्लास्टर फसफसी उप्किएको थियो । यतिखेर समेत नभत्किएको पर्खाललाई कोट्टयाउदा पर्खालका प्लास्टरहरु सजिलै उप्किने गरेको छ ।

सो समयमा त्यहांको रेल कुदने लिकको बिचमा बनाइएको १ सय ८० मिटर नाला समेत सामान्य असिनापानीमा भत्किएको थियो । निर्माणमा लापरवाही र गुणस्तरहीन सामाग्रि प्रयोग गरिएका कारण सामान्य कारणहरुले समेत संरचना भत्किने गरेको स्थानिय गिरिश यादवको भनाई छ । उता निर्माण पक्षका ठेकेदारले गुणस्तरहीन काम भएको आरोपलाई अस्वीकार गरेका छन ।

भारतीय ठेकेदार पक्षका मुन्शी सन्तोष झाले लगातारको बर्षाका कारण पर्खाल छेउको माटो भास्सिएका कारण पर्खाल भत्किएको दाबी गरेका छन ।
मुन्शी झाले गुणस्तरहीन निर्माण कार्य भएको बिषयलाई अस्वीकार गरेपनि रेलस्टेशनको पर्खाल मात्र नभई त्यहांका अन्य संरचनाहरु समेत दर्जनौं ठांउमा चर्किएका छन । रेल स्टेशनको भवन समेत बिचमै चिरा परेको छ । यस्तै स्टेशनको पश्चिमतर्फ रहेको पावर हाउसको सतह समेत चर्किएको छ ।

भारत सरकारको करिब २ सय ३८ करोड भारतिय रुपैया सहयोगमा बथनाहा देखि मोरङको कटहरी सम्मको साढे १८ किलोमिटर रेलवे ट्रयाक, स्टेशन विल्डिङ, यात्रु प्रतिक्षालय र संयुक्त चेक प्वाइन्ट निर्माण गरिने नेपाल र भारत बीच सम्झौता छ ।

भारतिय ठेकेदार कम्पनी इरकानले निर्माण कार्यको ठेक्का पाएको छ । नेपाल र भारत सरकारबीच सन् २०१० मा विभिन्न ५ स्थानमा रेलमार्ग विस्तार गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्