इलाका प्रशासनमा कर्मचारीको अभाव



अमृत अर्याल, स्याङ्जा ।
इलाका प्रशासन कार्यालय वालिङ, स्याङ्जा एक महिना देखि कर्मचारीको अभावमा रहेको छ । संघिय सरकारले कर्मचारी समायोजनको अवधारणा ल्याएपछि कर्मचारीको चरम अभाव भएको हो । जिल्लामै सबै भन्दा बढी नागरिकता र राहदानी वितरण गर्ने इलाका प्रशासन पटक पटक कर्मचारीको अभाव खेप्न बाध्य भएको छ ।

कार्यलय सहयोगीको भरमा सेवाग्राहीलाई सेवा दिन बाध्य भएको इलाका प्रशासन कार्यालय वालिङका प्रमुख दामोदर शर्माले बताउनुभयो । शर्मा वालिङमा सरुवा भएर आएपछि पटक—पटक कर्मचारी अभावमा कार्यालय चलाउन बाध्य हुनुभएको छ । शाखा अधिकृत सहित ३ नायव सुव्वा, १ कम्प्युटर अपरेटर, १ सह लेखापाल र २ कार्यालय सहयोगीको दरबन्दी रहेको इलाका प्रशासनमा हाल कर्मचारी समायोजन पछि शाखा अधिकृत र सहायक कम्प्युटर अपरेटर स्थायी रहेका छन् भने दुई कार्यालय सहयोगी करारमा रहेका छन् ।

नायव सुव्वाले सनाखत गर्नुपर्ने सिफारीस म आफैले गर्नु परेको छ इलाका प्रशासन प्रमुख शर्माले भन्नुभयो,“जसले गर्दा काममा अत्यन्तै लोड खेप्न परेको छ ।” नागरिकता र राहदानी वितरण गर्ने संवेदनशिल कार्यालयमा समयमै कर्मचारी नपठाउनु दुखद भएको शर्माले बताउनुभयो । विभागमा जानकारी पठाएका छौ शर्माले भन्नुभयो,“छिट्टै कर्मचारी आउने बताइएपनि अहिले सम्म आएका छैनन् ।” समायोजनले स्थानीय तहमा जाने कर्मचारी गए पनि संघमा समायोजन हुने कर्मचारी नआउदा समस्या भएको शर्मालेबताउनुभयो ।

कर्मचारीको अभाव भएपनि सेवा लिन आएका नागरिकलाई भने असहज नहुने गरी सेवा प्रवाह गरेको उहाँले बताउनुभयो । अहिले इलाका प्रशासनले वालिङ, गल्याङ, चापाकोट नगरपालिका र कालीगण्डकी गाँउपालिका पुरै वडा र भीरकोट नगरपालिका, विरुवा, हरिनास गाँउपालिकाका केही वडाका जनतालाई सेवा दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्