सुबिसुको ९० प्रतिशत सेवा सुचारु



नेपाल समाचारपत्र, काठमाडौं  ।
इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेट प्रालिको बालुवाटारस्थित डाटा सेन्टरमा बुधबार लागेको आगलागीबाट अवरुद्ध सेवामध्ये ९० प्रतिशत सेवा सुचारु भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार आगलागी नियन्त्रणमा आएको केही समयपछि थापाथलीस्थित सुबिसुको वैकल्पिक डाटा सेन्टरबाट अधिकांश सेवाग्राहीको सेवा सुचारु ग्रिएको थियो ।

वैकल्पिक डाटा सेन्टरबाट घटनापश्चात करिब ९० प्रतिशत सेवा सुचारु भएको कम्पनीको भनाइ छ । कम्पनीले भूकम्पपश्चात डिजास्टर रिकभरी सेन्टरको आवश्यकतालाई महसुस गरी सोही अनुरुप थापाथलीमा वैकल्पिक डाटा सेन्टर भएको थियो ।

क्षतिग्रस्त बालुवाटारको डाटा सेन्टरमा आबद्व सेवाग्राहीको अबरुद्व सेवा सुचारु गर्न कम्पनी प्रयासरत रहेको र एक दुई दिनभित्र सम्पूर्ण सेवाग्राहीको सेवा सुचारु हुने कम्पनीले जनाएको छ ।

कम्पनीले भीषण आगलागी नियन्त्रण गर्नका लागि सहयोग गर्ने जुद्ध बारुण यन्त्र, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, विमानस्थलको एभियसन रेस्क्यु एन्ड फायर सर्भिस र काठमाडौं महानगरको वारुण यन्त्रको टोलीप्रति आभार प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्