तत्काल निर्माण सुचारु गर्न माग



नेपाल समाचारपत्र, पर्वत  ।
मनसुन शुरु भएपछि बन्द रहेको मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ्ग खण्डको निर्माण कार्य तत्काल शुरु गर्न माग गरिएको छ ।
स्तरउन्नतीको क्रममा रहेको मध्यपहाडी लोकमार्गमा पर्ने पोखरा –बागलुङ्ग खण्डमा जमेको पानी र जुनसुकै बेला पनि पहिरो खस्न सक्ने खतरा भएकाले सडक निर्माणको काम तत्काल शुरु गर्न माग गरिएको हो । दुई महिना देखि सडक निर्माणको काम रोकिदा यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन ।

प्रतिनिधीसभाको शुन्य समयमा बोल्दै पर्वतबाट निर्वाचित साँसद पदम गिरीले सडकमा रहेका खाल्डाखुल्डी र पहिरो झर्ने खतराका कारण रोकिएको काम तत्काल शुरु गर्न माग गर्नुभयो । ‘मध्यपहाडी लोकमार्ग जस्तो राष्ट्रिय गौरबको आयोजनाको काम तत्काल शुरु गर्न आबश्यक छ’ उहाँले भन्नुभयो ‘सडकमा बनेका खाल्डाखुल्डीका कारण जुनसुकै बेला ठुलो दुर्घटना हुन सक्छ ।’

सडक निर्माणको जिम्मा लिएको लामा कन्स्ट्रक्सन कम्पनीले हिउँदमा सडक बिस्तारका लागि कटान गरेको तर बर्षा याममा पानी जम्मा भएका खाल्डाखुल्डी नपुरेको हुँदा सडकले जोखिम बढाएको साँसद गिरीले बताउनुभयो । बर्षा शुरुभएपछि धेरै ठाउँमा पहिरो झरेको छ भने कटान गरिएका भीरहरुमा जुनसुकैबेला पनि पहिरो खस्ने संभावना छ । सडकको पर्वत खण्डमा पर्ने कुस्मा देखि पातीचौर सम्म र डिमुवा देखि नयाँपुल खण्ड तथा कास्कीमा पर्ने नयाँपुल देखि गिरीचोक सम्मको खण्ड पहिरोको उच्च जोखिममा छ ।

कास्कीको गिरीचोक नजिक निरन्तर पहिरो झरिरहेका कारण समय समयमा यातयात अबरुद्ध भैरहेको छ । सडकको पर्वत खण्डमा डिमुवाको माहुरीभीर, आम्बोट र भ्याप्लेखोला नजिकको भीर, चुवा नजिकका भीरहरुमा पनि पहिरोको उच्च जोखिम छ । पहिरो गएको अबस्थामा हटाउनका लागि डिमुवा, आम्बोट, कुस्मामा स्काभेटर तयारी अबस्थामा राखिएको लामा कन्ट्रक्सनका प्रोजेक्ट म्यानेजर गोबिन्द भुसालले जानकारी दिनुभयो । गएको बर्ष पनि यी स्थानहरुमा भारी बर्षा हुँदा पहिरो र लेदोका कारण पटक पटक सडक अबरुद्ध भएका थिए । ‘बर्षा लागेका कारण केही समय काम रोकिएपनि एक हप्ता भित्रै काम शुरु हुन्छ’ उहाँले भन्नुभयो ।

आयोजनाको पर्वतको प्रवेशद्वार देखि मालढुंगा सम्मको २३ दशमलब ७६९ किलोमिटर स्तरउन्नतीको काम लामा कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ । कम्पनीले ८३ करोड ९८ लाख रुपैयामा पर्वत खण्ड स्तरउन्नतीको कामको ठेक्का लिएको छ । कम्पनीले असार सम्ममा ९० प्रतिशत काम सक्ने लक्ष्य सहित काम गरेपनि अहिले सम्म ५० प्रतिशत जति काम भएको छ ।

मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो पोखरा बागलुङ्ग खण्ड लाई नयाँ स्वरुपमा ढाल्ने गरि मर्मत सम्भार तीब्र पारिरहेको छ । लोकमार्ग पुरै नयाँ स्वरुपमा बिस्तार र स्तरोन्नती गर्न चारवटा प्याकेज बनाएर काम भैरहेको छ । मध्यपहाडी सडक आयोजनाले दिएको जानकारी अनुसार तीन वर्ष पोखरा–बागलुङ खण्डको धेरैजसो भाग पुरै नयाँ बन्नेछ ।

२०५० सालमा निर्माण सम्पन्न भएको सडकका् धेरै खण्ड भत्केर सवारी चलाउन कठिन हुँदै गएको थियो भने सवारी साधनको चाप बढेका कारण साँघुरो सडकमा ठाउँठाउँमा जाम समेत हुने गरेको थियो । साँघुरो सडक र ठाउँठाउँमा भासिँदा सवारी संचालनमा समेत जोखिम थियो । बर्षा याममा रोकिएको सडक निर्माण कार्य सुचारु गरिने आयोजना प्रमुख आशिष थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्