छ दिनसम्म फेला परेन शव, कुशकै बनाएर दाहसंस्कार



चिरञ्जीवी मास्के, दोलखा ।
दोलखाको गौरीशङ्कर गाँउपालिका–१ र २ मा पर्ने जुँगुको पहिरोमा बेपत्ता भएका दुई जना ६ दिनसम्म पनि फेला पर्न नसकेपछि परिवारका सदस्यहरुले कुशको शव बनाएर विहिवार दहासंस्कार गरेका छन् ।

गत साउन १८ गते रातिको अविरल बर्षासंगै आएको पहिरोमा परी बेपत्ता भएका वडा नम्बर १ का ५५ वर्षीय जगत्बहादुर खत्री र वडा नम्बर २ का १८ बर्षिय निशान खड्काको खोजी तत्कालै सुरु गरिएको भएपनि ६ दिनसम्म पनि फेला पार्न नसकिएपछि प्रहरी मुचुल्काको आधारमा परिवारका सदस्यहरुले कुशको शव बनाएर दहासंस्कार गरेको स्थानिय शिक्षक टिकाबहादुर खत्रीले बताउनु भयो ।

बेपत्ता जगतबहादुरको दहासंस्कार तथा मृत्यु संस्कारको कार्य जेठा छोराले गरेको र निशान खड्काको ब्रतबन्ध नभएकोले मृत्यु संस्कारको सबै कार्य नभएको गौरीशङ्कर गाँउपालिकाको उपप्रमुख उर्मिला थामीले बताउनु भयो ।
उनीहरुको खोजिको लागि नेपाली सेनाको तीन वटा तालिमप्राप्त कुकुर र डिटेक्टर टोलि समेत परिचालन गरिएको थियो । ६ दिनसम्म पनि फेला पर्न नसकेपछि नेपाली सेनाको तालिमप्राप्त कुकुर र डिटेक्टर टोलि विहिवारबाट फिर्ता भएको स्थानिय शिक्षक टिकाबहादुरले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले परिवारका सदस्यले दाहसंस्कार गरेको भए पनि नेपाल प्रहरीले बेपत्ताको खोजि कार्य र पहिरोबाट भएको क्षति संकलन तथा आवश्यक व्यवस्थापनको काम गरिरहेको बताउनु भयो । अब बेपत्ता भएकाहरु भेटिने सम्भावना नदेखिएकोले नेपाली सेनाको तालिमप्राप्त कुकुर र डिटेक्टर टिम तथा सशस्त्र प्रहरीको टिम भने विहिवारबाट फिर्ता भएको सशस्त्र प्रहरी नायव उपरीक्षक किरणकुमार कठाएतले बताउनु भयो ।

पहिरोमा परी जुँगु झगडेको ११ घर पुरीएको थियो भने वडा नम्बर १ र २ को झण्डै ८० घर परिवार विस्थापित भएका छन् । उनीहरु अहिले पनि विद्यालय र अन्य सुरक्षित स्थानमा बसिरहेको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्