‘प्रहरी संगठन मुलुककै लागि नमुना बन्दै’



काठमाडौ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई सुशासनको पहरेदारी गर्ने नमूना संगठनको रुपमा स्थापित गर्न लागिपरेको बताउनुभएको छ ।

नेपाल पूर्व प्रहरी संगठनका पदाधिकारीहरुसँग बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताउनुभएको हो ।

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीका वर्तमान गतिविधि र चुनौतीबारे प्रस्तुतीकरण गर्दै सांगठनिक सन्दर्भ, शान्ति सुव्यवस्था, अपराध नियन्त्रण र अनुसन्धानको अवस्था, नेपाल प्रहरीका सुधारका प्रयासहरु र समुदाय–प्रहरी साझेदारी कार्यक्रमबारे जानकारी गराउनुभयो ।

विशिष्टिकृत अनुसन्धान इकाईको गठन, विध्वंसात्मक गतिविधि नियन्त्रण, लागूऔषध तथा अवैध सुन बरामद एवं अपराध नियन्त्रण तथा अनुसन्धानमा नेपाल प्रहरीले प्रभावकारी कार्य गर्दै आएको उहाँले बताउनुभयो ।

कर्मचारीको वृत्ति विकास, आर्थिक सुशासन, भौतिक पूर्वाधार विकास, निःशुल्क जग्गा प्राप्ति समेतका उपलब्धीबारे उहाँले प्रकाश पार्नुभयो । नीतिगत तथा कानुनी विकास, कल्याणकारी योजना, आन्तरिक सुपरिवेक्षण, अन्तराष्ट्रिय समन्वयमा नेपाल प्रहरीले उल्लेख्य उपलब्धी हासिल गरेको समेत उहाँले चर्चा गर्नुभयो । समुदाय–प्रहरी साझेदारी कार्यक्रम र यसका गतिविधिबारे प्रकाश पार्दै उहाँले यस अवधारणा संस्थागत होस् भन्ने धारणा व्यक्त गर्नुभयो ।

प्रहरी महानिरिक्षक खनालले ट्राफिक व्यवस्थापन, लागूऔषध नियन्त्रणमा विशेष अभियान संचालन, राजश्व योगदानको साथै विपद् उद्दारमा नेपाल प्रहरीले सक्रिय भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । सूचना प्रविधि, बेरुजु फयौट लगायतका क्षेत्रमा राष्ट्रिय अन्तराष्ट्रिय पुरस्कार प्राप्त भएबाट नेपाल प्रहरीको अन्तराष्ट्रिय ख्याति बढेको विचार उहाँले व्यक्त गर्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा उक्त संगठनका पदाधिकारीहरुले राखेका जिज्ञासा निरुपण गर्दै प्रहरी महानिरीक्षक खनालले सहभागीहरुद्वारा राखिएका जिज्ञासा र सुझाव मननयोग्य रहेको बताउनुभयो । नीति निर्माण गर्ने कुरामा संगठनकोतर्फबाट गरिने कार्य कुनै कसर बाँकी नराखी अगाडि बढ्ने दृढ विश्वास उहाँले व्यक्त गर्नुभयो ।

विज्ञको हिसाबले अगाडि बढ्दै पूर्व प्रहरी कर्मचारी संवाहकको रुपमा भइदिनुपर्ने उल्लेख गर्दै उहाँले प्रहरी संगठन विस्तार र सुदृढिकरणका प्रयासप्रति पूर्व प्रहरी कर्मचारीहरुको दृष्टिकोण र रचनात्मक सुझावको अपेक्षा गरिएको बताउनुभयो ।

कार्यक्रममा नेपाल पूर्व प्रहरी संगठनका संरक्षक पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधानले नेपाल प्रहरीले समाज र राष्ट्रलाई दूरगामी प्रभाव पार्न नीति ल्याएको साथै प्रभावकारी र प्रशंसनीय काम गरेको प्रति खुसी व्यक्त गर्नुभयो । यस्ता अन्तरक्रिया कार्यक्रमले आपसी सम्बन्ध राम्रो हुने र विश्वास बढ्ने समेत उहाँले उल्लेख गर्नुभयो ।

सो अवसरमा नेपाल पूर्व प्रहरी संगठनका राष्ट्रिय अध्यक्ष पूर्व प्रहरी वरिष्ठ उपरीक्षक बसन्तराज कुँवरले हाल नेपाल प्रहरीले भौतिक विकास, प्रशासन, समाजमा जाने लगायत वास्तविक पुलिसिङको क्षेत्रमा गरेका काम अकल्पनीय र इतिहासमै उत्कृष्ट साबित भएको बताउनुभयो । उक्त संगठनका तर्फबाट विविध सुझाव प्रस्तुत गर्दै अध्यक्ष कुँवरले नेपाल पूर्व प्रहरी संगठन नेपाल प्रहरीका कार्यक्रमलाई सफल पार्न रचनात्मक सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।

उक्त अवसरमा नेपाल प्रहरीका गतिविधि, साधनस्रोत, नीति निर्माणमा नेपाल प्रहरीको भूमिका, कार्यक्षेत्र, समुदाय प्रहरी साझेदारी कार्यक्रम, नेपाल प्रहरी र नेपाल पूर्व प्रहरी संगठनबीच सहकार्य गर्न सकिने क्षेत्र लगायतका विषयमा सहभागीहरुले विविध जिज्ञासा एवं सुझाव प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल प्रहरीका गतिविधि, चुनौति र भावी कार्यक्रम एवं नेपाल प्रहरीलाई अझै गरिमामय, विश्वासिलो र गतिशील बनाएर लैजान निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा विस्तृत छलफल भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्