मदिरा व्यापारीलाई १० हजार जरिवाना, अवैध मदिरा नष्ट

0
Shares

विनोद सिंह विष्ट, बैतडी। बैतडीका स्थानीय सरकारले मदिरा बिक्रीवितरण तथा सेवनमा कडाई गरेका छन् । जिल्लाको दुर्गम सिगास गाउँपालिकाले केन्द्र गर्जे नजिकै रहेको एक पसलबाट अवैध मदिरा बरामद गरी नष्ट गर्नुका साथै १० हजार जरीवाना गरेको छ ।

लेबल नभएको ओरेन्ज नामको ५४ लिटर जति मदिरा बरामद गरेर नष्ट गरिएको सिगास गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जनकसिंह धामीले जानकारी दिनुभयो । व्यापारी मानसिंह ऐरको पसलबाट मदिरा बरामद गरिएको जनाएको छ ।

गाउँपालिकाले गाउँपालिकाको केन्द्र नजिक मदिराको कारोबार नगर्न सूचना जारी गरिसकेको र मानव स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउने खालको मदिरा विक्रि भईरहेको सूचनाको आधारमा छापा मार्दा मदिरा बरामद गरि नष्ट गरिएको हो। प्रहरी, जनप्रतिनिधि र कर्मचारीहरुको संयुक्त टोलीले अवैध मदिरा बरामद गरी नष्ट गरेको प्रहरीले जनाएको छ ।

यस्तै मदिरा विक्रि वितरण गर्ने मानसिंह ऐरलाई दश हजार रुपैया जरीवाना समेत असुल गरिएको छ । मदिरा सेवन गरी होहल्ला गर्ने चन्द्रसिंह ऐरबाट दुईहजार जरीवाना असुल गरिएको छ । मानसिंह ऐरले पहिला पनि ५ हजार जरीवाना तिरीसकेको सिगास गाउँपालिकाको कार्यालयले जनाएको छ । सिगास गाउँपालिकाको मदिरा नियन्त्रण कार्यविधि अनुसार जरीवाना गरिएको होे ।

गाउँपालिकाले कसैले मदिराको अवैध कारोबार गरेमा पहिलो पटक ५ हजार र दोश्रो पटक दशहजार जरीवना लाग्ने नियम बनाएको छ ।
जिल्लाका विभिन्न स्थानमा कमसल खालको, मानव स्वास्थ्यमा गम्भीर समस्या ल्याउने मदिरा अवैध रुपमा विक्रि वितरण भईरहेकोले त्यस्तो कार्य रोक्नका लागि प्रहरीले पहल थालेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले बताउनुभयो ।

बैतडीका स्थानीय तहहरुले मदिरा सेवन तथा बिक्रीवितरणले महिला तथा बालबालिकामाथि हिंसा बढ्नुका साथै अपराधिक घटना बढेकाले मदिरा बिक्रीवितरणमा रोक लगाएका छन् ।