प्रदेश १ को लेखा समितिद्वारा सडक अनुगमन



विराटनगर । प्रदेश १ को सार्वजनिक लेखा समितिले पूर्वपश्चिम राजमार्ग र त्यहाँ अवस्थित पुलमा मर्मत सम्बन्धी कामको अनुगमन गरेको छ । सडक कार्यालयमार्फत भएका मर्मतमा कैफियत र कमसल काम भएको भन्ने सांसदहरुले प्रदेशसभामा आवाज उठाएपछि समितिले सडक र पुलको अनुगमन गरेको हो ।

समितिमा सभापति शिवनारायण सिंह गन्गाईको नेतृत्वको अनुगमन टोलीले सडक तथा पुलको विषयमा स्थलगत जानकारी बटुलेको हो । सभापति गन्गाईका अनुसार अनुगमन टोलीले दुहबीदेखि इटहरी हुँदै मोरङको खोसार्नेसम्म सडक र पुलको अवस्थाबारे अनुगमन गरेको हो ।उहाँले भन्नुभयो ‘‘मर्मत कार्यको जिम्मेवारी पाएका निर्माण कम्पनी तथा सरकारी निकायसंग प्रत्यक्ष स्थलगत छलफलसमेत गरेका छौं ।’’

त्यस क्रममा सडकमा खाल्डाखुल्डी मर्मत गरेपनि यथावत रहेको, पुलमा गरिएको मर्मतसमेत उप्किएको पाइएको भेटिएको जानकारी गराएका थिए ।अनुगमनका क्रममा संसदीय टोलीसंग स्थानीले अति नै व्यस्त हुने पूर्वपश्चिम राजमार्गमा ठाउँठउँमा खाल्डाखुल्डी पर्दा दुर्घटनाको झन् संभावना बढाएको गुनासो गरेका थिए । निर्माण पक्षले भने बर्खाको समयमा कतिपय सडकको क्षेत्रमा पानी जम्ने गर्नाले कालोपत्रे उप्किएको समिति समक्ष जानकारी गराएका थिए । अनुगनमा सार्वजनिक लेखा समितिका सदस्य सांसद तुलसी प्रसाद न्यौपाने, अम्बिका थापा, कुसुम श्रेष्ठ र प्रदेशसभाका सचिवलगायत सहभागी थिए ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको दुहबी उत्तर र इटहरी पूर्व परेका खाल्डाले सार्वजनिक तथा निजी यातायात संचालनमा निकै कठिनाइ हुने गरेको छ । गछिया पुलमा परेको खाल्डाले यात्रु र सवारीलाई निकै सास्ती हुने गरेको छ । सडक कार्यालयले मर्मत गरेको भनेपनि समस्या यथावत रहेको भन्ने स्थानीयले समेत गुनासो गरेपछि समितिले चासो दिएको सभापति गन्गाईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्