१ करोडको लागतमा जडान गरिएको एक्स-रे मेसिन काम नलाग्ने अवस्थामा



भद्रपुर । सीमा नाकाबाट नेपाल भित्रिने प्रतिबन्धीत सामानलाइ चेक जाँच गर्ने उद्देश्यले एक वर्ष अघि करिब एक करोडको लागतमा जडान गरिएको एक्स–रे मेसिन काम नलाग्ने भएको छ ।

सीमा नाकाबाट हुने चोरी, तस्करीलगायत प्रतिबन्धित सरसामान ओसारप्रसार नियन्त्रण गर्न उद्देश्यका साथ मेची भन्सार कार्यालय काँकडभिट्टाले सञ्चालनमा ल्याइएको ‘एक्स(रे मेसिन काम नलाग्ने भएको हो । यसअघि पनि सो मेसिन पटक–पटक बिग्रँदै गरेको र बजेट खर्चिएर भन्सारले बनाउँदै पुनः सञ्चालनमा ल्याउँदै गरेका थिए । तर, गत असार २ गतेदेखि बिग्रिएको ‘एक्स(रे मेसिन’ अहिलेसम्म सञ्चालनमा नआउँदा प्रयोगविहीन बनेको छ ।

भारतको पानीटंकीसँग जोडिएको काँकडभिट्टा नाकामा मेची भन्सारले यात्रु शाखामा अत्याधुनिक ‘एक्स(रे मेसिन’ जडान गर्दै एकीकृत सुरक्षा चेकजाँच प्रणाली करिब एक वर्षअघि सञ्चालनमा ल्याएको थियो । मेसिन थन्किएपछि सुरक्षा चेकजाँचमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कर्मचारीलाई समस्या परेको छ ।

भारतबाट आउने सर्वसाधारण जनताको झोला तथा ब्याग यात्रु शाखामा कर्मचारी र सुरक्षाकर्मीले खोलेर चेकजाँच गर्दा सास्ती झेल्नु परेको छ । पूर्वी नाकाको प्रवेशद्वारमा यात्रुलाई सहज तरिकाबाट चेकजाँच गर्न र शंकास्पद सरसामानलाई नियन्त्रणमा लिने मेसिन डेढ महिनादेखि बिग्रिएर थन्किदासमेत सम्बन्धित नियकाले सञ्चालन ल्याउन खासै चासो देखाएको छैन ।

भारत, बंगलादेश, भुटानलगायत तेस्रो मुलुकसँग सम्बन्ध जोडिएकाले यो नाका सुरक्षाको दृष्टिकोणले अति नै संवेदनशील मानिन्छ । यता, मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख टेकबहादुर अर्यालका अनुसार बिग्रिएको ‘एक्स(रे मेसिन’ बनाउने कि नयाँ ल्याउने भन्ने विषयमा छलफल भइरहेको बताउँनुहन्छ । अहिलेको मेसिन बनाउन २० लाख रुपैयाँ खर्च लाग्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्