जीरेखोलामा खानेपानीको समस्या



बैतडी। बर्षा सुरु भएको भएपनि बैतडीको सुर्नया गाउँपालिका वडा नं ४ को जीरेखोलामा खानेपानीको समस्या भएको छ । नजिक मूहान नभएका कारण आफूहरुले एक किलिमिटर टाढाको दूरीबाट खानेपानी ल्याउनुपरीरहेको स्थानीय हिक्मत महराले बताउनुभयो । गाउँको तल रहेको खोलाबाट पानी बोक्नुपर्ने भएकाले निकै समस्या हुने गरेको छ ।

जीरेखोलाका १५ घरपरिवारले बर्षौंदेखि पानीको समस्या झेल्दै आएको भएपनि कसैले ध्यान नदिएको स्थानीय जसु महराले बताउनुभयो । घरको एकजना सदस्य पानी बोक्नकै लागि व्यस्त हुनुपर्ने अवस्था रहेको उहाँको भनाई छ । सरसफाई,वस्तुभाउ र पिउनका लागि समेत बोकेरै पानीको जोहो गर्नुपर्ने समस्या रहेको स्थानीय फन्तु महराले जानकारी दिनुभयो ।

खानेपानी समस्या समाधानका लागि पटक पटक आग्रह गरेको भएपनि कसैले पहल नगरेको स्थानीयबासीको गुनासो छ । खोला नजिकको मूहान भएका बर्षातको समयमा मूहान समेत दूषित हुने गरेको स्थानीयहरुले बताएका छन् ।

निर्वाचनका बेला नेताहरुले खानेपानी समस्या समाधान गर्ने आश्वासन दिएपनि जितेपछि कसैले नहेरेको स्थानीयहरुले गुनासो गरेका छन् । खानेपानीकै कारण बालबालिकाहरुको विद्यालय समेत छुट्ने गरेको स्थानीय हजारी महराले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्