एक महिनाको पारिश्रमिक क्यान्सरका बिरामीलाई: उपराष्ट्रपति पुन



नेपाल समाचारपत्र, काठमाडौ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले क्यान्सरबाटपीडित बालबालिकोको उपचारका लागि एक महिनाको पारिश्रमिक सहयोगस्वरुप उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

उहाँले सो कुरा शनिबार नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर हरिसिद्धि ललितपुरको सहयोग तथा नेपाल क्यान्सर सहयोग समूहको आयोजनामा भएको सुदिप्त सुपर किड्स क्यान्सर सर्भाइभर ¥याम्प वाक’ मा बताउनुभएको हो । उहाँले आफू क्यान्सर रोग जितेका र क्यान्सरको उपचार गराईरहेका बालबालिकाको मनोबल उच्च बनाउन र पीडामा साथ दिन कार्यक्रममा सहभागी भएको बताउँदै भन्नुभयो– ‘म एक महिनाको पारिश्रमिक बालबालिकाको क्यान्सर उपचारका लागि दिने घोषणा गर्दछु ।’

प्राणी जगत्कै शत्रु क्यान्सर रोगसँग लड्दै क्यान्सरलाई जितेका देशका लागि होनाहार बालबालिकाको स्वास्थ्यप्रति सरकार उचित ढंगले अघि बढ्ने उहाँको भनाइ थियो ।

उहाँले नेपालमै सबै खाले उपचार सम्भव भएको बताउँदै आफू विदेशमा उपचार गर्न नगएको र नेपालमै उपचार सम्भव भएको बताउनुभयो । ‘रोगको उपचार औषधिले मात्र हुन्न चिकित्सकको दक्षता र बिरामीको उच्च मनोबलले रोग निको हुन मदत पुग्छ । रोग लाग्दा निराश हुनुहुन्न रोगलाई जित्न सकिन्छ’ –उहाँको भनाइ थियो ।

कार्यक्रममा पूर्वसेनापति रुक्मागत कटुवाल, बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, नेता नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, नवकलाकार आयुस केसीलगायत रोगलाई जितेका र उपचार गराइरहेका बालबालिका, अभिभावक, शुभचिन्तक, सञ्चारकर्मीका साथ देशी तथा विदेशीहरुको उपस्थिति रहेको थियो । बार्यक्रममा क्यान्सरपीडित बालबालिकाले आ–आफ्नो अनुभव सुनाएका थिए ।

पोखराका १३ वर्षीय रिन्पो एल्नोले मैले क्यान्सर जितेको छु अब म यही देशका लागि केही गर्छु भनिरहँदा हलमा सहभागी उपराष्ट्रपति पुन, मदनकृष्ण श्रेष्ठ, पूर्वसेनापति रुक्मागत कटुवालका साथ अधिकांश भक्कानिएर अस्रुधार आसु बगाइरहेका थिए ।

‘वालवालिकाको क्यान्सर निको हुन्छ’ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएकोे ‘¥याम्प वाक’ मा क्यान्सर रोगको उपचार गराइरहेका र क्यान्सर निको भइसकेका २ देखि १८ वर्ष उमेर समूहका काठमाडौं उपत्यका र विभिन्न जिल्लाका ५० बालबालिका सहभागी भएका थिए ।

प्रमुख अतिथि पुन तथा वालगायक आयुष केसीको प्रस्तुतिले पीडा भोगिरहेका क्यान्सरपीडित बालबालिका, अभिवावक र चिकित्सकलाई हौसला मिलेको र आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने नेपाल क्यान्सर अस्पतालका कार्यकारी अध्यक्ष तथा निर्देशक डा. सुदीप श्रेष्ठले बताउनुभयो । त्यसैगरी कार्यक्रमका संयोजक सुदिपा श्रेष्ठले आर्थिक अभावका कारण उपचार गर्दा निको हुने बालकालिकाको रक्त क्यान्सर उपचार गर्न नसकी जीवननै जाने गरेको पीडादायी घटनालाई कमी ल्याउने उद्देश्यले राज्यको उपस्थितिमा यो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा वालवालिकामा लाग्ने सबै प्रकारको क्यान्सर समयमै उपचार गरे ८० देखि ९० प्रतिशतसम्म निको हुने भए पनि सरकारको ध्यान बालबालिकाको क्यान्सरतर्फ नपुगेको औंल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्