फुटबलको विकासका लागि ग्रासरुट फुटबल निकै आवश्यक



शनिबार मध्यपुर युथ एसोसिएसनको मैदानमा निकै चहलपहल देखियो । स्कूले विद्यार्थीहरुले फुटबल खेलेको दृश्यले नेपालमा फुटबलप्रति कतिको चाहना भएको उदाहरण प्रस्तुत गरियो । ग्रासरुट फुटबलको यो महोत्सवमा स–साना विद्यार्थीको सहभागिता रहे। बल हान्न र दौड्न ससाना भाइबहिनी रमाइरहेका थिए । निकै रमाइलो ढंगले उनीहरु खेलिरहे । नेपालमा पहिलो पटक आयोजना भएको ग्रासरुट फुटबलको जिम्मा लिनुभएको छ मध्यपुर युथ एसोसिएसनका अध्यक्ष उपेन्द्रमान सिंहले । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष समेत रहनुभएका सिंहले ग्रासरुट फुटबललाई नेपालभरि विस्तार गर्ने योजना राख्नुभएको छ। नेपालका राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर सिंहसँग नेपाल समाचारपत्रका लागि फिरोज राजोपाध्यायले गरेको कुराकानी: 

ग्रासरुट फुटबल भन्नाले के बुझिन्छ ? अहिले पनि धेरै यो विषयसँग अनभिज्ञ छन् ।
ग्रासरुट फुटबल भनेको फुटबल विकास गर्ने आधार हो । यदि फुटबलको विकास गर्नु पर्छ भन्ने चाहना छ भने ग्रासरुट फुटबल कार्यक्रम गर्नैपर्छ । साधारण किसिमले भन्ने हो भने फुटबलको बलियो जग हो ग्रासरुट ।

नेपालमा ग्रासरुट फुटबलको आवश्यकता कतिको छ ?
निकै आवश्यकता छ । एउटा घर बनाउन जग बलियो गर्छ नि त्यति नै ग्रासरुट फुटबलको महत्व रहेको छ । पहिलो त फुटबलमा आकर्षण गर्न सकिन्छ । त्यसपछि युथ डेभलोपमेन्ट हुन्छ । ग्रासरुट कार्यक्रमबाटै उत्कृष्ट खेलाडी छनोट हुन्छ । उनीहरुको विभिन्न टिम बनाएर लिग संचालन हुन्छ । यो कदम कदममा माथि उठ्दै गएर भविष्यमा राम्रो सिनियर टिम बनाउन निकै मद्दत पुग्नेछ ।

ग्रासरुट फुटबल कसरी खेलिन्छ ?
यसमा ६ देखि १२ वर्षका बालबालिकाको सहभागि हुन्छन् । यति उमेरकै बालबालिकाले नै खेल्ने हो ग्रासरुट फुटबल । १३ वर्षदेखि माथि त जुनियर र सिनियर खेलाडी भइहाल्यो। स्कूलका स–साना विद्यार्थीले फुटबल खेल्छन् । उनीहरु यसैमा रमाउँछन् । यसले धेरै फाइदा गर्छ । यसमा केटा र केटी दुबैलाई मिक्स गरेर खेलाउने गर्छ ।

फाइदा भन्नाले ?
भाइबहिनीहरु शारिरीक र मानसिक दुबै तर्फबाट बलियो हुन्छन्। यहीबाट हामीले नयाँ राम्रा खेलाडी उत्पादन गर्न सकिन्छ । साथ साथै शरीर स्वस्थ गराउँछ । उनीहरुले व्यवहारिक ज्ञान पनि सिकिन्छ । अरु पनि उनीहरुले सिक्न पाउनेछन्।

कसरी ?
सबै जना एकै ठाउँमा भेला भएर खेल्ने भएकोले स–साना भाइबहिनीहरुले सामाजिक व्यवहार सिक्न थाल्छन्। जस्तै ठूलालाई आदर गर्ने, सानालाई माया गर्ने, अनुसासनमा बस्ने, अन्तरक्रिया गर्न सक्षम हुने, टीमवर्कको विकास हुने । खेलाडीमा चाहिने नै यी गुण हुन्। यसले हामीले भविष्यमा सक्षम खेलाडी उत्पादन गर्न सक्छौ र उनीहरुले भविष्यमा सफल व्यक्ति हुन पनि कोशिस गर्नेछन्।

योजना अनुसार अहिलेसम्म ग्रासरुट फुटबल कहाँ कहाँ पुग्यो ?
हामीले अहिले भक्तपुरमा ग¥यौं। ललितपुरमा फ्रेन्डस् क्लबले गराइसकेको छ । काठमाडौंमा पनि शुरु भइसकेको छ। एन्फा आबद्ध ४५ जिल्लामा यसको विस्तार हुनेछ । एक हप्तापछि प्रदेश २ मा यो कार्यक्रम शुरु हुन्छ । जसमा केही जिल्ला धनुषा, सप्तरी, सिराहामा ग्रासरुट फुटबल शुरु गराउन जाँदैछौ । त्यस्तै खोटाङ, नवलपुर र मनाङमा पनि ग्रासरुट फुटबल हुँ्दैछ ।

४५ जिल्ला भन्नुभयो बाँकीको लागि के योजना बन्दैछ त ?
एन्फासँग आबद्ध ४५ जिल्लामा हामीले त्यहाँका नगरप्रमुख, प्रदेश सरकार र जिल्लाका प्रतिनिधिसँग हामीले कुरा गरिसकेका छौ। सबैले सकारात्मक तरिकाले लिनुभएका छन्। म यसैमा खुशी छु । यो तुरुन्तै हुने विषय पनि होइन । विस्तारै यसले नेपालभरि जरो गाड्दै लग्छ । पहिले पहिले बुझ्दैन तर अहिले बुझेपछि स्कूल स्कूलले समेत हामीलाई सहयोग गर्दैछन्। हेर्नुस् न आज (शनिबार) मात्रै पनि ग्रासरुट फुटबलमा सहभागि हुने विद्यार्थी करिब ४ सय भन्दा बढी छन् ।

कतिको सन्तुष्ट हुनुहुन्छ ग्रासरुट फुटबल कार्यक्रममा ?
धेरै सन्तुष्ट छु । किनभने गतवर्ष देखि शुरु गरेको कार्यक्रम हो यो ग्रासरुट फुटबल । यो मेरो भिजन भएकोले एक वर्ष भयो होला म राम्ररी सुतेको पनि छैन। यसबारे सोच्दै मेरो रात छर्लङ बित्छ । तर यसको फल पाएँ पनि । एक वर्षमा करिब १० हजार भन्दा बढी बालबालिकाले ग्रासरुट कार्यक्रमा सहभागि जनाइसकेका छन्। यो भनेको वन्डरफुल नतिजा हो । साढे ४ वर्षमा ३०–३५ हजार बालबालिकालाई यसमा सहभागि गराउने लक्ष्य लिएको छु । जसअनुसार एक वर्षमै सन्तुष्ट हुने नतिजाले मलाई अझ हौसला बढाएको छ।

तपाईँको क्लबले के कति काम गरिरहेको छ हाल?
मध्यपुरले हालै मात्र ग्रासरुट फुटबल कार्यक्रम ग¥यौं । यो सँधै हुने पनि होइन । हप्ताको एक दुई पटक हुने हो । विद्यार्थीहरु बलसँग खेलिरहेका छन् । भक्तपुरका स्कूलका विद्यार्थीका लागि वरदान सावित भइरहेको छ । त्यस्तै यो वर्ष १० वर्ष मुनि र १३ वर्ष मुनिको स्कूल लिग संचालन गरेको छ ।

ग्रासरुट फुटबल एन्फाको कार्यक्रम हो तर कतिको सहयोग पाउनुभएको छ ?
धेरै सहयोग गरेको छ एन्फाले । आर्थिक सहयोग पनि गरेको छ। सामग्री पनि दिइरहेको छ। जिल्ला जिल्लामा यो कार्यक्रम गराउन भने प्रदेश सरकारको पनि सहयोगको आवश्यक हुन्छ । फेरि फुटबलका स्टेकहोल्डरसँग पनि कुरा गरिरहेको छु । प्रायोजकसँग पनि कुरा गरिरहेको छु। सबैले सहयोग गर्ने वचन दिएका छन्।

नेपालमा ग्रासरुट फुटबलले के भविष्यामा उत्कृष्ट फुटबल टिम हेर्न पाउनेछ त नेपाली फुटबल प्रेमीले ?
हेर्नोस एन्फामा नयाँ नेतृत्व आयो तब मैले यसको जिम्मा लिएँ । निकै आवश्यक ठानेर नै मैले यो भिजन ल्याएको हु । नेपालको फुटबल अझै विकसित हुन सकेको छैन। यसका लागि ग्रासरुट फुटबल ल्याउन आवश्यक नै भइसकेको छ । युरोपको देशमा हेर्नोस यो ग्रासरुट फुटबल निकै लोकप्रिय छ ।

जर्मनी, इटाली, स्पेन, नेदरल्यान्डस् जस्ता राष्ट्र किन फुटबलमा अगाडि छन् । किन भन्दा त्यहाँ ग्रासरुट फुटबललाई धेरै प्राथमिकता दिएको छ। नेपालमा पनि ग्रासरुट फुटबलले स्थान पाइसकेको छ। यसैले भविष्यमा एउटा उत्कृष्ट टिम तयार हुनेमा म विश्वस्त छु ।

प्रतिक्रिया दिनुहोस्