आयंका फाउन्डेसनको पहिलो सेवा धनुषामा



नायक–नायिका जोडी आयंका अर्थात् आयुष्मान देशराज जोशी र प्रियंका कार्कीको आयंका फाउन्डेसनले धनुषा जिल्लाका ३ विद्यालयमा पञ्चकन्या फाउन्डेसनको सहयोगमा महिलामैत्री शौचालय निर्माण गरी हस्तान्तरण गरेको छ। फाउन्डेसनले हरेक विद्यालयमा दुई शौचालय, फल दिने ९ बोटबिरुवा, २ थान डस्टबिन र सय थान ब्याग पनि वितरण गरेको छ।

साथै केजीएच फाउन्डेसनको सहयोगमा ५० थान पुनः प्रयोग गर्न मिल्ने प्याडको किट पनि वितरण गरेको छ। धनुषाको जनता मावि, हरिपुर निगाहपुर मावि र आधारभँत माविमा एक कार्यक्रमबीच उक्त सामग्री वितरण गरिएको हो। फाउन्डेसनकी अध्यक्ष नायिका प्रियंका कार्की, कोषाध्यक्ष आयुष्मान देशराज जोशीलगायत विभिन्न व्यक्तिको सहभागितामा सम्पन्न कार्यक्रममा महिनावारी सम्बन्धी सचेतना अभिवृद्धि पनि गरिएको छ।

नायिका कार्कीले महिनावारीको विषयमा अहिलेसम्म खुलेर कुरा गर्ने संस्कारको विकास भइनसकेको भन्दै छात्राहरूलाई महिनावारी भएको समयमा सरसफाइमा ध्यान दिन आग्रह गरिन्। कपडाबाट बनेको सो प्याडलाई धोएर एक वर्षसम्म प्रयोग गर्न मिल्ने उनले जानकारी गराइन्। एउटा झोलामा ४ थान प्याड, २ थान भित्री वस्त्र, साबुनलगायतका सामग्री रहेको उनले जानकारी गराइन्।

कार्यक्रममा उनले छात्राहरूलाई प्याड प्रयोग गर्ने तरिकासमेत सिकाएकी थिइन्। यस्तै, नायक आयुष्मान देशराज जोशीले महिनावारी लाज र महिलाको मात्र विषय नभएको बताए। महिनावारी भएको समयमा महिलाको पीडा कम गर्न पुरुषले पनि सहयोग गर्नुपर्नेमा उनले जोड दिए। न महिनावारी, न महिनापारि, म हुँ महिनाभरि लेखिएको टिर्सट लगाएर कार्यक्रममा उपस्थित भएका उनीहरूको यो आयंका फाउन्डेसनका तर्फबाट पहिलो सामाजिक काम हो। कार्यक्रममा महिला सचेतनामा निरन्तर लाग्ने प्रतिबद्धता पनि उनीहरूले जनाएका छन्। प्रियंका र आयुष्मानलाई खानेपानी मन्त्रालयले महिनावारी स्वच्छता दँतमा नियुक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्