एकल महिलालाई उन्नत जातका बाख्रा



सिन्धुपाल्चोक । पशुपालनमा उत्प्रेरण गर्दै एकल महिलाहरुलाई बाख्रा वितरण गरिएको छ । बलेफी गाउँपालिका–८ नम्बर वडा कार्यालयले वडाभित्र ‘एकल महिलाका लागि उन्नत बाख्रा’ अभियान सुरु गरेको हो ।

पहिलो चरणमा बलेफी–८ का दश जना एकल महिलाहरुलाई एक कार्यक्रम गर्दै सोमबार बाख्रा वितरण गरिएको छ । वडाध्यक्ष चरिबहादुर तामाङ, वडासदस्य लक्ष्मण अधिकारी र मन्दिरा कायस्थले सोमबार भिरकुनामा एक कार्यक्रमकाबीच एकल महिलाहरुलाई उन्नत जातको बाख्रा वितरण गरे ।

वडातहमा रहेको एकल महिला शशक्तिकरण समुहमार्फत दशजना एकल महिलाहरुलाई उन्नत जातका बाख्रा वितरण गरिएको वडाध्यक्ष चरिबहादुर तामाङले बताए । समूहबाट बाख्रा पाउनेहरुले पहिलो बेतको पाठी समुहमा ल्याएर बुझाउनेछन् । र त्यही पाठी ठूलो भएपछि अरु एकल महिलाहरुलाई प्रदान गरिनेछ । ‘वडाका सवै महिलाहरुका लागि उन्नत जातको बाख्रा प्रदान गर्नेछौं, नियमित रुपमा यो अभियान चलिरहनेछ’, वडाध्यक्ष तामाङले भने ।

एकल महिला शशक्तिकरण समुहका लागि यसवर्ष एक लाख रुकम विनियोजन गरिएकोमा सोही रकमबाट उन्नत जातका बाख्रा खरीद गरि प्रदान गरिएको वडासदस्य लक्ष्मण अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्