खरको छाना हटाउने अभियानमा वगनासकाली



नेपाल समाचारपत्र, पाल्पा
खरको छाना भएका घरहरु आगलागीको लागि जोखिम भएको, प्रत्येक वर्ष छाना परिवर्तन गर्दा घरधनीलाई अत्याधिक खर्च हुँदै आएको, घरको लागि धेरै खर लाग्ने भएकोले पशुपालनमा समस्या देखिएकोले बगनासकाली गाउँपालिकाले खरको छाना मुक्त अभियान थालेको छ । सो अभियानलाई तिव्रता दिदै गाउ पालिकाले खरका छाना रहेका घरहरुलाई हटाउन गाउँपालिकाले निःशुल्क जस्तापाता वितरण अभियानलाई अघि वढाएको छ ।

गाउँपालिकाले एक कार्यक्रमका बीच ८३ घरधुरीलाई जस्तापाता वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल, उपाध्यक्ष सरस्वती चिदी, प्रमुख प्रशासकिय अधिकृत सुन्दरप्रसाद श्रेष्ठ र जनप्रतिनिधिहरूको सहभागितामा जस्तापाता वितरण गरिएको थियो । खरको छानो मुक्त बनाउने कार्यक्रम अन्तर्गत गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ मा विनियोजन गरेको २५ लाखबाट ८३ घरपरिवारलाई जस्तापाता वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रत्येक घरलाई २४ पाता (तीन बण्डल) का दरले जस्तापाता दिइएको हो । गत वर्ष गाउँपालिकाले १५ लाख रकम विनियोजन गरेर ५५ घर परिवारलाई जस्तापाता विरण गरेको थियो । योसँगै गाउँपालिकाले १ सय ३८ घरपरिवारलाई जस्तापाता वितरण गरेको छ । गाउँपालिकाले एक घरको लागि पहिलो २४ जस्तापाता निःशुल्क प्रदान गरेको छ ।

आगामी २०७६ भित्र बगनासकाली गाउँपालिकालाई खरको छाना मुक्त गाउँपालिका घोषणा गरी समृद्ध गाउँपालिका बनाउने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए । अघिल्लो वर्ष वडा ५ र ९ लाई खरको छानामुक्त वडा घोषणा गरिएको अध्यक्ष बस्यालले जानकारी दिए । नांै वडा मध्ये यस वर्ष वडा १, ३, ४ र ८ गरी चार वटा वडा घोषणा गरी जम्मा ६ वटा वडा खरको छानो मुक्त रहने अध्यक्ष बस्यालले बताए । बाँकी ३ वटा वडालाई आगामी वर्षको कार्यक्रमबाट घोषणा गरिने गाउँपालिका प्रवक्ता लक्ष्मी अधिकारीले जानकारी दिए ।

टिनको छाना लगाएपछि गाउँमा देखिएका यस्ता समस्या हट्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले बताए । गाउँपालिकामा खरको छाना मुक्तसंगै, अबको दुई वर्ष भित्र प्रत्येक घर घरमा स्वच्छ पानीको व्यवस्था गर्ने उपाध्यक्ष सरस्वती चिदीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्