दुई दर्जन नयाँ स्वास्थ्यका भवन



विनोद सिंह विष्ट, बैतडी
सबै नागरिकको स्वास्थ्य सेवा पहुँच पुर्याउने उद्देश्यसहित बैतडीमा करिब २ दर्जन नयाँ स्वास्थ्य संस्थाका भवन निर्माण हुने भएका छन् ।

चालु आर्थिक बर्षमा १४ ओटा सुरक्षित प्रसुती सेवा केन्द, ३ ओटा सामुदायिक स्वास्थ्य इकाइका भवन र २ शहरी स्वास्थ्य क्लिनिक भवन र २ स्वास्थ्यचौकीका नयाँ भवन बन्न लागेका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको बजेटबाट सुरक्षित प्रसुती सेवा केन्द्रका भवन निर्माण कार्य शुरु हुने स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिष्टेन्ट सन्तोष पाण्डेयले जानकारी दिए ।

१४ ओटा सुरक्षित प्रसूती सेवा केन्द्र भवन निर्माणका लागि २० लाखका दरले बजेट विनियोजन भएर कार्यक्रम आएको छ । तर भवन निर्माण कार्यविधि भने अझै आइपुगेको छैन् ।

चालु आर्थिक बर्षमा दशरथचन्द नगरपालिको वडा नं १० रातामाटामा, वडा नं ५ को करकटट्यामा, पाटन नगरपालिकाको वडा नं १ पदमपुरमा,सुर्नया गाउँपालिका ३ को बिजुलमा, शिवनाथ गाउँपालिका २ को पोखर र वडा नं ३ को बछलामा, दोगडाकेदार गाउँपालिकाको वडा नं १ गोरङ, वडा नम्बर २ को कफलकोट र वडा नं ७ को चडेपानीमा सुरक्षित प्रसुती सेवा केन्द्रका भवन निर्माण कार्य शुरु हुनेछ ।

यसैगरी डिलासैनी गाउँपालिका–६ को गोकुलेश्वरमा र वडा नं ७ को धामीगाउँमा,पुरचौंडी नगरपालिका वडा नं ४ को सिबाबोमा, पञ्चेश्वर गाउँपालिका वडा नं २ र सिगास गाउँपालिकाको वडा न. ७ न्वाघरमा सुरक्षित प्रसुती सेवा केन्द्रका भवन निर्माण हुनेछ । सुरक्षित प्रसुती सेवा केन्द्रका भवन नभएका र पुराना भवन भएका ठाउँमा नयाँ भवन निर्माण हुने हेल्थ असिष्टेन्ट पाण्डेयको भनाई छ ।

यस्तै चालू आर्थिक बर्षमा प्रदेश सरकार मार्फत बैतडीमा तीनओटा सामुदायिक स्वास्थ्य इकाइका भवन निर्माण हुनेछन् । सुर्नया गाउँपालिका वडा नं ४, डिलाशैनी ५ नगराउँ र पञ्चेश्वर ४ निङलाडमा सामुदायिक स्वास्थ्य इकाइका भवन निर्माण हुने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । सामुदायिक स्वास्थ्य इकाइका लागि १५ लाखका दरले बजेट विनियोजन गरिएको छ ।

यसैगरी दशरथचन्द नगरपालिका वडा नं १ सौडेखोला र पाटन नगरपालिका ज्यापुमा शहरी स्वास्थ्य क्लिनिक भवन पनि निर्माण हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै संघीय सरकार मार्फत डिलाशैनी गाउँपालिका वडा नं १ र सिगास गाउँपालिका वडा नम्बर ३ मा स्वास्थ्यचौकीका भवन निर्माण कार्य चालु आर्थिक बर्षमै शुरु हुने बताइएको छ ।

स्वास्थ्यसंस्थाका नयाँ भवन निर्माण भएपछि यहाँका सबै नागरिकले सहज रुपमा स्वास्थ्य सेवा लिन पाउने भएका छन् । हाल यहाँका विभिन्न क्षेत्रका नागरिक स्वास्थ्य क्षेत्र लिनकै लागी भनेर घण्टै हिडेर स्वास्थ्य सेवा लिन बाध्य भएका छन् ।

देश संघिय संरचना गईसकेपछी बैतडीका विभिन्न वडा स्वास्थ्य संस्थाविहीन रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्