वादीलाई जग्गा किन्दै नगरपालिका



विमल विष्ट, डोटी,
डोटी जिल्लाको दिपायलमा रहेका वादी समुदायलाई बास बस्नलाई समेत घरबास नभएपछि दिपायल सिलगढी नगरपालिकाले उनीहरुका लागि जग्गा किन्ने भएको छ । पुरानो क्षेत्रीय सदरमुकाम दिपायल क्षेत्रमा रहेका वादी समुदायको व्यवस्थित बसोवास गर्ने उद्देश्यले दिपायल सिलगढी नगरपालिकाले जग्गा किन्ने भएको हो ।

नगरपालिकाभित्र बसोबास गर्दै आएका तर आफ्नो घर जग्गा केही नभएका भूमिहीन वादी समुदायका लागि जग्गा खरीद गरी घर बनाउने नगरपालिकाको योजना अनुसार जग्गा किन्ने तयारी भई प्रक्रिया अघि बढेको नगर प्रमुख मञ्जु मलासीले बताउनु भयो । उहाँले भन्नुभयो, “वादी समुदायको व्यवस्थापनका लागि जग्गा किन्ने प्रक्रिया सुरु भईसकेको छ, केही समयमै भुमिहिन बादीहरुले आफनै नामको जग्गा पाउने छन् ।”

नगरपालिकाले जमीन खरीद गरेपछि त्यसमा सरकारको जनता आवास कार्यक्रम अन्तर्गत भवन निर्माण गर्ने गरी काम अघि बढाइएको दिपायल सिलगढी नगरपालिकाका कार्यकारी प्रमुख भोजराज शर्माले बताउनु भयो । उहाँले भन्नुभयो, “नगरपालिकाले जग्गा किनेर आवासकालागि जनता आवास कार्यक्रमले घर बनाई दिनेछ ।” वादी समुदाय अहिले दिपायल सिलगढी नगरपालिका–४ स्थित सेती प्राविधिक शिक्षालय नजिकै अस्थायी टहरा बनाएर बस्दै आएका छन् ।

उचित आवासको व्यवस्था,बालबालिकाका लागि शिक्षा, सीपमूलक तालीम, अपाङ्गता भएका व्यक्तिलाई विशेष व्यवस्था गर्नुपर्ने मागसहित वादी समुदायले नगरपालिका समक्ष माग गर्दैआएको छ । उनीहरु नाच्ने, गाउने, मादल बनाउने, माटाका भाँडा बनाउनेलगायत काम गरी जीवन निर्वाह गर्दै आएका छन् । जिल्लामा वादी समुदायको १०४ परिवार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्