नभए तेस्रो जनआन्दोलन….



नेपाल समाचारपत्र, हेटौंडा
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले आपूmहरुको मागलाई बेवास्ता गरिए जनसंघर्ष हुने चेतावनी दिनुभएको छ ।

राप्रपाले जारी राखेको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राका क्रममा गृहनगर हेटौंडामा भएको सभामा अध्यक्ष थापाले आफूहरुको मागलाई बेवास्ता गरिए तेस्रो जनआन्दोलन गर्ने चेतावनी दिनुभयो ।

नेपाललाई सनातन हिन्दुराज्य बनाउने अभियानमा जनसमर्थन ठूलो रहेको भन्दै अध्यक्ष थापाले आफूहरुले सनातन हिन्दुराज्य स्थापनाका लागि जस्तोसुकै आन्दोलन गर्न तयार रहेको बताउनुभयो ।

केपी ओली नेतृत्वको सरकारले लोकतन्त्रको आडमा भ्रष्टाचारलाई प्रश्रय दिएको भन्दै अध्यक्ष थापाले वाइडबडी, सुनकाण्डका विषयमा हालसम्म कुनै तथ्य बाहिर नआउनु शंकाको विषय भएको दाबी गर्नुभयो ।

सरकारले नेपाललाई विखण्डन गर्ने मानसिकता भएकाहरुलाई निस्तेज पार्न नसकेको भन्दै उहाँले यस्तै अबस्था आए देशमा ठूलो संकट आउने उहाँले बताउनुभयो । अध्यक्ष थापाले देशमा लुटतन्त्र चलिरहेको आरोप लगाउनुभयो । ‘प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्दिनँ भन्दा म बुझ्न सक्छु, अनि भ्रष्टाचार गर्न दिन्न भन्ने पनि अलिअलि पत्याउन सकिएला तर भ्रष्टाचारीको अनुहार हेर्दिन भन्दा मैले पत्याइँन,’ थापाले भन्नुभयो ।

‘बालुवाटारको वरिपरि, सिंह दरबारको वरिपरि नेपालको व्रह्मलुट गर्ने भ्रष्टाचारीको गिरोह रातदिन सक्रिय छ । यस्ता भ्रष्टाचारी नदेख्ने प्रधानमन्त्रीले कि मौनव्रत बस्नुप¥यो कि त भ्रष्टाचारी गएपछि आँखा खोल्नुप¥यो,’ अध्यक्ष थापाले आरोप लगाउनुभयो ।

अध्यक्ष थापाले सरकारले सर्वोच्चले फैसला गरेको एनसेलबाट उठाउनुपर्ने कर उठाउन कस्ले रोकेको छ भन्दै प्रश्न गर्दै सरकारले हिन्दुराष्ट्र पुनस्र्थापना, राष्ट्रिय अखण्डता, शान्तिसुरक्षा, भ्रष्टाचार नियन्त्रण, गरिबी, बरोजगारी, मूल्यवृिद्ध जस्ता समस्या समाधानका लागि राप्रपा सडकमा आएको बताउनुभयो ।

राप्रपाका बरिष्ठ नेता तथा प्रतिनिधिसभा सांसद् राजेन्द्र लिङ्देलले कमल थापालाई झापाबाट जिताउने घोषणा गर्नुभयो । आमसभामा नेता लिङ्देलले कमल थापाजस्तो ब्यक्तिलाई यहाँका जनताले नबुझेको गुनासो गर्नुभयो ।

उहाँले तपार्इंहरुले किन कमल थापालाई हराउनु भयो, के यो व्यक्तिको यो जिल्लाले तपार्इंको जुनीमा पाउनसक्छ ? यो कुनामा राजधानी ल्याउने मान्छे पाउनुहुन्छ ? आफ्नो नाभीमा भएको बास्ना थाहा नपाएर कस्तुरी डाँडाकाँडा हिँडछ रे, तपाईं आफ्नै नाभीमा भएको बास्ना थाहा नपाएर कहाँकहाँ भौतारिनुभएको छ भन्ने प्रश्न गर्नुभयो ।

उहाँले देशका भविष्यको प्रधानमन्त्री हुने योग्यता भएको मान्छे मकवानपुरले साँच्चै मन नपराएको भए झापा लगेर जिताएर पठाउने भन्दै आफूहरुले मकवानपुर टेक्दासमेत गौरव महसुस हुने बताउनुभयो ।

नेपालमा हिन्दुधर्मको विरोधमा विभिन्न भ्रमहरु सृजना गर्न खोजिएको भन्दै उहाँले यस्तो भ्रममा नपर्न अनुरोध गर्नुभयो । सनातन हिन्दुराज्य तथा राजतन्त्रले मात्र देशको भलो गर्ने भन्दै उहाँले देशमा फेरि पनि राजतन्त्र फर्कने दाबी गर्नुभयो ।

राप्रपाले नेपाल सरकारसमक्ष हिन्दुराष्ट्र पुनस्र्थापना, राजसंस्थाबारे गोलमेच सम्मेलन, संघीयताबारे जनमतसंग्रह, भ्रष्टाचार अन्त्यलगायत २२ बुँदे माग प्रस्तुत गरेको छ । यी विषयमा जनमत सिर्जना गर्न भन्दै फागुन १५ देखि ३० गतेसम्म स्वाभिमान यात्रा सञ्चालन गरिरहेको अध्यक्ष थापाले बताउनुभयो । यात्रा फागुन ३० गते काठमाडौंमा समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्