प्रदेश स्तरीय मणिमुकुन्द कप भलिबल शुरु



यमलाल भुसाल, बुटवल ।
बुटवलमा ‘छैठौं मणिमुकुन्द कप प्रदेश स्तरीय पुरुष भलिवल प्रतियोगिता’ शुरु भएको छ । मणिमुकुन्द भलिवल क्लवको आयोजनामा शुरु भएको प्रतियोगिताको मंगलबार तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख घिमिरेले भलिवल खेलसंगै खेलकुदको बिकासकालागि मैदान व्यबस्थापन र पूर्वाधार निर्माणको काम अंगाडी बढाएको जानकारी गराउनु भयो । उहाँले तिलोत्तमा नगरपालिकाले वडा नं. १० मा खेलकुद मैदान निर्माणकालागि टेण्डर भएको जानकारी गराउँदै नगरपालिकाले क्रमशः सबै वडामा खेलकुद मैदान निर्माण गर्ने उल्लेख गर्नुभयो ।

मणिमुकुन्द भलिवल क्लवका अध्यक्ष मिलन रानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगिताका संयोजक सुरेन्द्र गुरुङ्ले पहिले क्षेत्रीय स्तरमा सञ्चालन हुँदै आएको प्रतियोगितालाई मुलुकको पुनःसंरचना अनुसार प्रदेश स्तरमा सञ्चालन गरिएको बताउँदै सहभागि टिमलाई अनुशासनपूर्वक खेल प्रदर्शन गर्न आग्रह गर्नुभयो ।

प्रतियोगिता अन्तरगत मंगलबार जिल्ला भलिवल संघ रुपन्देही र जिल्ला भलिवल संघ बाँकेका बिचमा उद्घाटन खेल भएको थियो । उद्घाटन खेलमा सोझो सेटमा जिल्ला भलिवल संघ रुपन्देहीले जित हात पारेको छ ।

लिग प्रणालीमा हुने प्रतियोगिता अन्तरगत बुधबार जिल्ला भलिवल संघ अर्घाखाँची र गुल्मी, परासी र बाँके, पाल्पा र अर्घाखाँची, रुपन्देही र परासी, तथा पाल्पा र परासी प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, बाँके र परासी गरी ६ जिल्लाका ६ टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई १ लाख १ हजार, द्वितीय हुनेलाई ७१ हजार, तृतीय हुनेलाई ४४ हजार तथा चौंथो हुने टिमलाई सान्त्वना स्वरुप २२ हजार रुपैंया नगद पुरस्कार प्रदान गरिने छ । त्यस्तै सर्बोत्कृष्ट खेलाडी, बिधागत रुपमा उत्कृष्ट हुने खेलाडी र अनुशासित टिमलाई समेत पुरस्कार प्रदान गरिने आयोजक क्लवले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्