मेयर्स चितवन च्याम्पियनसिप ट्रफीको उपाधि चितवनलाई



चितवन ।
किशोर महतोले महत्वपूर्ण ५ विकेट लिएपछि चितवन क्रिकेट क्लवले १६ औं संस्करणको मेयर्स चितवन च्याम्पियनसीप ट्रफी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । नारायणगढस्थित क्याम्पाचौरमा आज (सोमबार) भएको फाईनल प्रतिस्पर्धामा कलैया क्रिकेट क्लवलाई ५४ रनले पराजित गर्दै चितवनले उपाधि जितेको हो । उपाधिसंगै चितवनले नगद एक लाख रुपैयाँ, ट्रफी प्राप्त गरेको छ भने उपविजेतामै सिमित बाराले नगद ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ ।

चितवनले दिएको ११० रनको लक्ष्य पछ्याएको बारा १२.३ ओभरमा ५५ रन बनाउँदै अलआउट भएको थियो । बाराका लागि शिव तण्डुकारले २३ र कुमार थापाले ११ रन बनाउनु बाहेक अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बाराका चार व्याट्सम्यान डकआउट भएका थिए । राष्ट्रिय खेलाडीहरु अनिल शाह, हसिम अन्सारी, अमित श्रेष्ठ, तृतराज दासले राम्रो प्रदर्शन गर्न नसकेपछि बाराले झिनो लक्ष्य पनि भेट्टाउन सकेन ।

बाराले १२ रन जोड्दा महत्वपूर्ण ७ विकेट गुमाएको थियो । त्यसपछि क्रिजमा रहेका शिव तण्डुकार र कुमार थापाले २९ रनको साझेदारी गर्दै पारी उकासेका थिए । यी दुईको साझेदारी चितवनका गौतम केसीले तोडेका थिए । टिमको ४१ रन हुँदा तण्डुकार र ५२ रन हुँदा थापा आउट भएपछि बाराको जित्ने आशा सकिएको थियो ।

बाराको इनिङलाई धरासयी बनाउन युवा राष्ट्रिय क्रिकेटर किशोर महतोले ३.३ ओभरमा मात्र ९ रन दिएर महत्वपूर्ण ५ विकेट लिए । किशोरले हसिम अन्सारी, रवि शाह, तृतराज दास, अदिल अन्सारी र भुलवान सहनीको विकेट लिए । किशोरले आफ्नो पहिलो ओभर र दोस्रो ओभरमा लगातार दुईरदुई विकेट लिए पनि ह्याट्रिक लिन असफल भए । यस्तै राष्ट्रिय खेलाडी दीपेश श्रेष्ठ र गौतम केसीले समान दुईरदुई विकेट लिए । बाराका एक खेलाडी रनआउट भएका थिए ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको चितवनले निर्धा्रित २० ओभरमा ७ विकेट गुमाउँदै १०९ बनाएको थियो । उच्च स्कोर बनाउने योजनासहित व्याटिङ रोजेको चितवनको सुरुवात पनि राम्रो हुन सकेन् । चितवनले ५ रन बनाउँदा ओपनरद्धय आकाश थापा र सन्तोष न्यौपाने आउट भएका थिए । आकाश १ र सन्तोष २ रनमा आउट भए ।

त्यसपछि चितवको पारी राम कार्की र दीपेश श्रेष्ठले उकासे । यी दुईले ४८ रनको साझेदारी गरे । कार्कीले ३१, श्रेष्ठले २६, हेमराज पौडेलले १५, हरिबहादुर चौहानले ११ रन बनाए । बाराका लागि अनिल शाह, आशुतोष पटेल र अदिल अन्सारीले समान दुई÷दुई विकेट लिए । फाईनल प्रतिस्पर्धामा चितवनका किशोर महतो म्यान अफ दि म्याच भए ।

यस्तै प्रतियोगितामा १० विकेट लिन सफल किशोर महतो बेस्ट बलर, दुई खेलमा १५६ रन बनाएका धनगढी क्रिकेट एकेडेमीका राजु रिजाल बेस्ट व्याट्सम्यान र प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका चितवनका दीपेश श्रेष्ठ म्यान अफ दि सिरिज घोषित भए । यस्तै इमर्जिङ प्लेयरको अवार्ड अजित भण्डारीले पाए ।

चितवन जिल्ला क्रिकेट संघले आयोजना गरेको यस प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको थियो । दुई समूहमा विभाजन गरी लिगचरणमा खेलाईएको प्रतियोगितामा समूह विजेता दुई टोली फाईनलमा भिडेका थिए । यस पटक प्रतियोगितामा भरतपुर महानगरपालिकाले सहकार्य गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्