झापा गोल्डकपः एपीएफ क्वाटरफाइनलमा प्रवेश



भद्रपुर ।
चौथो मगमग झापा गोल्डकप अन्तर्गतको दोस्रो दिन भएको खेलमा शसस्त्र प्रहरीको एपीएफ क्लब मोरङ्११ लाई १–० गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

एपिएफले मोरङ्का तीन जना खेलाडी काठमाण्डौको अन्य क्लबमा अनुबन्धित भएको भनेर अपिल गरेपछि २३ मिनेट खेल रोकिएको थियो । मोरङले अन्य क्लबको रिलिज पेपर देखाउन नसक्दा खेल रोकिएको हो । तर, एपीएफको माथिल्लो निकायबाट खेल खेल्न निर्देशनपछि खेल पुनः सुचारु भएको थियो ।

मोरङका गोलरक्षक किशोर गिरी अगाडी बडेको समयमा रमेश दंगालको हेडमा हरि कार्कीले फ्लिक हेड गर्दा बलले पोष्टको दिशा लिएको थियो । सोही गोलले नै एपिएफका लागि अघिल्लो चरण प्रवेशको लागि ढोका खोलेको थियो ।

२४ औं मिनेटमा एपीएफका प्रविन स्याङतानको कडा प्रहार मोरङका गोलरक्षक गिरीले पञ्च गरेर फर्काए । ६६ औं मिनेटमा मोरङका डि एरियाबाट गरेको प्रहार एपीएफका खेलाडीले बचाए ।

खेलको म्यान अफ दी म्याच बिजेता टीम एपीएफका हरि कार्की भए । उनले नगद १५ हजार रुपैंयाँ पुरस्कार पाए । सोमबारको खेल मगमग झापा ११ र हङकङ नेप्लिज एकाडेमीबीच हुनेछ ।

हिम इलेक्ट्रोनिक्सले प्रदान गरेको एक जना भाग्यशाली दर्शकको पुरस्कार अर्जुनधारा नगरपालिकाका पदम चोङवाङले प्राप्त गरेका छन् । उनले २० इन्चको एलइडी टेलिभिजन प्राप्त गरेका थिए । प्रतियोगिताको बिजेताले १२ लाख ५५ हजार र उपबिजेताले ६ लाख ५ हजार रुपैया नगद पाउँने छ । प्रतियोगिताको फाइनल फागुन २७ गते हुने छ ।

प्रतिक्रिया दिनुहोस्