सिडिओमा वैद्य र एसपीमा आचार्य
मनोज भट्ट, महेन्द्रनगर ।
सरुवा भएर कञ्चनपुरका आएका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख (एसपी) संग पत्रकारहरुको भेटघाट कार्यक्रम सम्पन्न भएको छ । आइतवार जिल्ला प्रशासन कार्यालयमा जिल्लाका पत्रकारहरु र नयाँ प्रमुखको भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।
सरुवा भएर प्रमुख जिल्ला अधिकारीका रुपमा शुसिल बैद्य र प्रहरी प्रमुखमा दिनेश आचार्य कञ्चनपुर आएका छन् ।
भेटघाटका क्रममा पत्रकारहरुले जिल्लाको पछिल्लो वस्तुस्थित बारे जानकारी गराउँदै कञ्चनपुरका समस्याहरु न्युनिकरण गर्नेतर्फ नयाँ आएको टोली सफल हुने विश्वास व्यक्त गरेका छन् ।
जिल्लामा क्रियाशिल पत्रकारहरुको सहभागीता रहेको कार्यक्रममा पत्रकारहरुले खुला सीमा, सरकारी जमीन अतिक्रमण, लागु औषध, जाँड रक्सी सेवन लगायतका समस्याको बारे जानकारी गराएका थिए । भेटघाट कार्यक्रममा बोल्दै पत्रकार मोहन बिष्टले यहाँका समस्याबारे प्रमुखहरुको ध्यानाकर्षण गराउदै समस्या न्युनिकरण गरी जिल्लामा शान्ति सुरक्षा कायम गर्न पत्रकारहरुको सहयोग पुर्णरुपले रहने जनाए ।
जिल्लाका समस्याबारे पत्रकारहरुले जानकारी गराएपछि प्रमुख जिल्ला अधिकारी शुसिल बैद्यले सबैको सहकार्य आवश्यक रहेको बताउँदै कञ्चनपुर जिल्लालाई एउटा नमूना बनाउन सकिने बताए । जिल्लाको समग्र विकासको लागि आफुहरुको सबैपक्षसंग सहकार्य गरेर अगाडि बढ्ने उनले बताए । उनले भने, ‘हामी एउटैले गरेर हुँदैन, समग्र जिल्लाको शान्ती, सुरक्षाको लागि सहकार्य हुनु पर्छ, हामी सहकार्य गरेर जान्छौँ ।’
नगर विकास समितिको बिषयमा बोल्दै उनले सरकारी जमीन कसैले अतिक्रमण गर्न नसक्ने बताए । नगर विकास समितिको जमीनमा बनेका संरचनाको बारेमा ‘क्याबिनेट’ ले गरेको निर्णय आफुहरु तुरुन्त कार्यान्वयनमा ल्याउने दाबी गरे ।
यस्तै उनले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका अपराधी ढिलो, चाडो भए पनि कानूनी दायरामा आउने दाबी गरे । घटनाको विभिन्न संयन्त्रले अनुसन्धान गरिरहेको बताउँदै प्रमुख जिल्ला अधिकारी बैद्यले भने, ‘अनुसन्धानमा कहिले काँही ढिलो चाडो हुन्छ, तर अपराधी कानूनी दायरामा आउँछ ।’
यस्तै कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी दिनेश आचार्यले जनतालाई सुरक्षा दिने कुरामा आफुले कुनै कसर बाँकी नराख्ने बताए । जनताको भावना अनुरुप जिल्लाको शान्ती, सुरक्षा कायम गर्न प्रहरी लाग्ने विश्वास व्यक्त गरे ।











प्रतिक्रिया