विनोद सिंह विष्ट, बैतडी ।
मातृमृत्युदर र नवजात शिशुमृत्युदरलाई शुन्यमा झार्नका लागि बैतडीको पुर्चौडी नगरपालिका वडा नं ७ कोटीला घरमा हुने सुत्केरी शुन्य वडा घोषणा भएको छ ।
घरमा हुने सुत्केरी शुन्य वडा घोषणाका सबै मापदण्ड पूरा भएपछि वडालाई आइतवार एक कार्यक्रमकाबीच पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको कोटीला स्वास्थ्यचौकीका इन्चार्ज सुमन लुहारले जानकारी दिनुभयो । गएको एक बर्षको अवधिमा वडाभरीका सबै गर्भवती महिलाले स्वास्थ्य संस्थामा बच्चा जन्माएको, सबै गर्भवती महिलाहरुले नेपाल सरकारको प्रोटोकल अनुसार चार पटक गर्भजाँच गरेको, गर्भवती महिलाहरुले टीटी खोप लगाएको, नियमित रुपमा आइरन चक्की खाएको लगायतका सूचकहरु पूरा भएपछि वडालाई पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएको हो ।
वडा अध्यक्ष रामबहादुर ऐरको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वसभाषद नरेन्द्र कुवर प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा पुर्चाैंडी नगरपालिकाका नगरप्रमुख रणबहादुर कुँवर, उपप्रमुख जानकी बम लगायत बिशिष्ट अतिथी रहेका थिए ।
कोटीला पुर्चौंडी नगरपालिकाको तेश्रो र जिल्लाको १२ औं पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएको छ । पुर्चौंडीको वडा नं १ हाट र वडा नं ५ कुवाकोट यसअघि नै पूर्ण संस्थागत सुत्केरी घोषणा भईसकेका थिए ।
अनाथ बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण
यसैबिच पुर्चौंडी नगरपालिकाले नगरपालिकाका २० जना अनाथ तथा टुहुरा बालबालिकाहरुलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ । नगरपालिकाको महिला तथा बालबालिका शाखाले प्रत्येक वडाका २÷२ जनालाई पोशाक र शैक्षिक सामग्री वितरण गरेको शाखा प्रमुख सरीता अवस्थीले जानकारी दिनुभयो ।
अनाथ तथा टुहुरा बालबालिकाहरुको पठपाठनमा सहयोग पुगोस भन्ने हेतुले सो कार्य गरिएको होे । नगरपालिकाले चालु आर्थिक बर्षमा टुहरा तथा अनाथ बालबालिकाहरुका लागि रकम छुट्याएको र सोही रकमबाट पोशाक र शैक्षिक सामग्री वितरण गरिएको नगरपालिकाले जनाएको छ ।











प्रतिक्रिया