हलेसी स्टारमा ११ प्रतिभा

0
Shares

खोटाङ, (नेस)। खोटाङमा जारी गायन प्रतियोगिता हलेसी साइनो स्टार–२०७५ को फाइनलका लागि ११ जना प्रतिभा छानिएका छन्। दिक्तेलमा सम्पन्न छैठौं राउन्डको प्रतियोगिताअन्तर्गत १६ प्रतिस्पर्धीले प्रस्तुति दिएकोमा उत्कृष्ट ११ जना गायन प्रतिभा फाइनलका लागि छनोट भएका हुन्।

फाइनल राउन्डका लागि पुस्कल राई, संग्राम राई, बिना राई, पर्शु गजमेर, युवराज राई, रोजिना राई, स्काइ भरत मगर, प्रदीप राई, प्रणिसा विक, क्युमिला राई र सोम मगर छानिएको आयोजक साइनो कला केन्द्र खोटाङका अध्यक्ष प्रमोद श्रेष्ठले बताए। उक्त राउन्डको निर्णायक मण्डलमा गायक रूपकुमार राई र गायिका कला राई रहेका थिए। प्रतियोगिताको फाइनल राउन्ड आगामी फागुन २५ गते शनिबार दिक्तेलमा सञ्चालन हुनेछ। छैटौं राउन्डमा भोटिङको ४० र निर्णायकको ६० अंककोे आधारमा नतिजा घोषणा गरिएको थियो। फाइनलमा पनि सोही नियम लागू हुनेछ।

जिल्लाका १० वटै स्थानीय तहका ११ स्थानमा सञ्चालन गरिएको पालिकास्तरीय अडिसनबाट छानिएका १ सय १८ प्रतियोगीमध्ये ११ जना बाँकी रहेका हुन्। फाइनल चरणमा गायक राजेशपायल राई, संगीतकार शान्तिराम राईलगायतका सांगीतिक हस्तीहरूको उपस्थिति रहने आयोजकले जनाएका छन्। गायन प्रतियोगितामा प्रथम हुने स्वरका प्रतिभाले नगद ५५ हजार ५ सय ५५ रुपियाँका साथमा गीत रेकर्डिङ र एक वर्ष संगीत कक्षा अध्ययन गर्ने अवसरका साथमा प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन्।

दोस्रो हुने प्रतिभालाई नगद ३० हजारका साथमा एक वर्ष संगीत कक्षा अध्ययन गर्ने अवसरका साथमा प्रमाणपत्र र ट्रफी तथा तेस्रो हुने प्रतिभालाई नगद १५ हजार ५ सय ५५ रुपियाँका साथमा एक वर्ष संगीत कक्षा अध्ययन गर्ने अवसरका साथमा प्रमाणपत्र र ट्रफी प्रदान गरिने जनाइएको छ।