सार्वजनिक महत्वका विधेयक नगर सभामा प्रस्तुत हुने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
काठमाडौं महानगरको आउँदो नगर सभामा सार्वजनिक निजी साझेदारी, सार्वजनिक यातायात र सहरी योजना आयोग सम्बन्धि बिधेयक प्रस्तुत हुने भएको छ ।

सहरी व्यवस्थापनलाई जनअपेक्षाबमोजिम बनाउन यससम्बन्धी कानुनी व्यवस्था आवश्यक रहेको जनाउँदै शुक्रबार महानगरको सभा कक्षमा बसेको कार्यपालिकाको ३०औं बैठकले अवधारणागत सहमति दिएपछि सार्वजनिक महत्वका यी बिधेयक नगर सभामा प्रस्तुत हुने भएका हुन् ।

बैठकले चैत्र २४ गते नगर सभा बस्ने मिति समेत तय गरेको महानगरका प्रवक्ता ईश्वरमान डंगालले जानकारी दिनुभयो । प्रबक्ता डंगोलका अनुसार बैठकमा रानीपोखरी पुननिर्माणका लागि मेयर बिद्यासुन्दर शाक्यले उपभोक्ता समितिमा रहने व्यक्तिहरुको नाम प्रस्ताव गर्नुभएको थियो । प्रस्तावित नाम अनुमोदन गर्दै बैठकले अजयरत्न स्थापितको संयोजकमा ५ सदस्यीय समिति गठन गरेको छ ।

समितिको सचिवमा रोशनकाजी तुलाधर, कोषाध्यक्षमा होमप्रसाद खड्गी तथा सदस्यहरुमा दीपकराज तुलाधर र दीपेन्द्र खड्गी हुनुहुन्छ । बैठकले रानीपोखरी पुननिर्माणको अनुगमन तथा समन्वय समिति पनि गठन गरेको छ । समितिमा वडा १ का अध्यक्ष भरतलाल श्रेष्ठ, बडा २७ का अध्यक्ष चिनियाँमान बज्राचार्य र वडा २८ का अध्यक्ष भाइराम खड्गी हुनुहुन्छ ।

बैठकले अपाङ्गता भएका व्यक्तिको परिचय पत्र बितरण सम्बन्धि कार्यबिधि २०७५ अनुमोदन गरेको छ । यस कार्यबिधिबमोजिम अपाङ्गता भएको व्यक्ति स्वयम् वा अभिभावक तथा संरक्षकमध्ये कसैले अपाङ्ता भएको पुष्टि हुने कागजातसहित वडामा निवेदन दिएपछि वडाले सामाजिक विकास विभागमा सिफारिस गर्ने र बिभागले परिचय उपलब्ध गराउने व्यवस्था गरेको छ ।
यस प्रक्रियामा चित्त नबुझे महानगरका उपप्रमुखको संयोजकत्वमा गठित समन्वयन समितिमा निवेदन दिन सकिनेछ । अपाङ्ता सम्बन्धि प्रमाण पत्र लिन स्थायी ठेगाना भएको ठाउँमा जान नसक्ने व्यक्तिको हकमा, त्यस अघि नलिएको एकिन गरी लिन सक्ने व्यवस्था छ ।

बैठकमा काठमाडौंँ टावरको निर्माण प्रत्रृmयाका बिषयको प्रस्तावमाथि छलफल गर्दै, टावरको निर्माण पक्ष स्वच्छन्द बिकाईले गरेको कामको गुणस्तर, सम्झौतामा उल्लेख भएका शर्तहरुको पालना र समय सीमा जस्ता बिषयलाई स्वतन्त्र परीक्षण गर्न परामर्शदाताबाट काम गराउने निर्णय भएको छ । त्यस्तै सम्पदा क्षेत्रमा निर्माण भएका भवनहरुको अभिलेखीकरण गर्ने निर्णय भएको छ ।