सकियो निफ, सिंगापुरको फिल्मलाई हजार डलर



राजधानीमा जारी ५ दिने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को दोस्रो संस्करण सम्पन्न भएको छ। गत बिहीबार शुरू भएको महोत्सव सोमबार सम्पन्न भएको हो।

महोत्सवमा सिंगापुरको फिल्म ए ल्यान्ड इम्याजिन्ड उत्कृष्ट फिल्म सावित भएको छ। फिल्मलाई १ हजार डलरसहित गौतम बुद्ध अवार्ड प्रदान गरियो। अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका सर्ट फिल्ममध्ये भने भारतको मीन आलापलाई ५ सय डलरसहित माउन्ट एभरेस्ट अवार्ड प्रदान गरियो भने नेपाली प्रतिस्पर्धाअन्तर्गतका फिल्मबाट डाइङ क्यान्ण्डललाई उत्कृष्ट फिल्मका रूपमा ५० हजार रुपियाँ प्रदान गरियो। नेपाली सर्ट फिल्मबाट सुपर मंकलाई २५ हजारसहित सम्मान गरियो भने कथानक फिल्मतर्फ डाइङ क्यान्डलबाट नरेशकुमार केसीलाई निर्देशक र पञ्चायतबाट शिवम् अधिकारीलाई पटकथाको अवार्ड प्रदान गरियो।

विश्वका विभिन्न ३१ राष्ट्रका ६० फिल्मबीच प्रतिस्पर्धात्मक प्रदर्शन भएको महोत्वसमा नीर शाहको संयोजकत्वमा भारतका फिल्मविद् प्रेमेन्द्र मजुमदार, चीनको बेइजिङ फिल्म एकेडेमीका प्रोफेसर ल्याङ स्याओ र क्यान्स फिल्म फेस्टिभलका कार्यक्रम निर्देशक एन्ने डेलेच निर्णायक थिए। समापन समारोहमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले विजयीहरूलाई पुरस्कार प्रदान गरेका थिए भने महोत्सव आयोजक समितिका अध्यक्ष केपी पाठकले नगद पुरस्कार प्रदान गरेका थिए। उपप्रधानमन्त्री पोखरेलले नेपालमा हुने गरेका अन्तर्राष्ट्रियस्तरका फिल्म महोत्सवले नेपाली फिल्मलाई विश्वव्यापी बनाउन सघाउनेमात्र नभई नेपालमा अन्तर्राष्ट्रिय फिल्मबारे ज्ञान दिन पनि सघाउने चर्चा गरे।

महोत्सव समापनका अवसरमा चीनको फिल्म अला चाङसो, नेपाल भाषाका दुई छोटा फिल्म द मिथ जिरो र अस्तित्व, लेबनानको द ब्लाइन्ड अफ क्याथेड्रल, टर्कीको द विन्ड विल क्यारी अस, नेपाल र स्पेनको संयुक्त निर्माणमा बनेको द स्टेन्ड प्mल्याग, नेपाली भाषाका छोटा फिल्महरू सुपर मंक, मदर, तृष्णा, जापानको क्याट डेज र बंगलादेशको ए लेटर अफ गड प्रदर्शन गरिएका थिए।

प्रतिक्रिया दिनुहोस्