भालुढुङ्गामा ‘भालुको आकृति’को चित्र निर्माण



गणेश घिमिरे, इलाम ।जिल्लाकै प्रमुख पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्दै आएको भालुढुङ्गामा आन्तरीक तथा बाह्य पर्यटक आउने क्रम बढेको छ । इलामनगरपालिका वडा नम्बर ६ मा पर्ने भालुढुङ्गामा स्थानीय युवाहरुले सो क्षेत्रमा पर्यटन बिकासका निम्ति बिभिन्न क्रियाकलाप गर्दै आएका छन् ।

भालुढुङ्गा सामुदायिक पर्यटन प्रबद्र्धन बिकास संस्था दर्ता गरेर स्थानीयले काम गरीरहेका छन् । पर्यटकीय गन्तब्य भएपनि ओझेलमा परेको सो क्षेत्रमा बिगत दुईबर्षदेखि पर्यटन बिकासका निम्ति काम भइरहेको छ । ११ हेक्टर क्षेत्रफलमा फैलिएको ओडारे भालुढुङ्गा सामुदायिक वनभित्रको चार हेक्टर क्षेत्रफलमा संस्थाले पर्यटन बिकासको गतिबिधि गर्दै आएको छ ।

सो ठाउँमा दुईवटा भालुढुङ्गा र चमेरे गुफा रहेको छ । संस्थाले हाल भालुढुङ्गा गुफा प्रबेशद्धारमा भालुको आकृति भएको चित्र निर्माण गरीरहेको छ । झापा धुलाबारीका चित्रकारले उक्त आकृति बनाइरहेका छन् । करीब डेढलाख रुपैंयाँको लगानीमा भालुको आकृतिको चित्र निर्माण गरीरहेको संस्थाका सदस्य हेमराज ढकालले बताए । इलाम बजारदेखि ३ किलोमिटर टाढा रहेको यो क्षेत्र छोटो समयमा नै स्थानीयको प्रयासले पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको हो ।

हराभरा जंगल, गुफा, धार्मिकस्थल लगायतले भरिएको शान्त भालुढुङ्गा क्षेत्रमा अब संस्थाले पर्यटकलाई जंगल सफारी समेत गराउने गरी जंगलभित्र बाटो निर्माण र चौतारो बनाउने कामलाई अघि बढाउन लागेको छ । भालुढुङ्गासम्म पुग्न ग्राभेल सडक विस्तार भएको छ । चियाबारीको मनोरम दृष्यावलोकन गर्दै पुगिने भालुढुङ्गा पारिवारिक घुमघाम र तन्नेरीका लागि रोजाईमा पर्ने गरेको छ ।

यो क्षेत्र दृश्यावलोकनका लागि पनि अब्बल मानिन्छ । छिन्टापु, सन्दकपुर, जौवारीलगायत जिल्लाका अग्ला थुम्कासहित बेंसीका फाट र घोडाको मुख जस्तो लाग्ने पुवाखोलाले फन्को मारेको दृष्य यहाँवाट देख्न सकिन्छ । यस क्षेत्रमा रहेका सिंहदेवी, जलपादेवी, जलकन्यादेवीको मन्दिरले धार्मिक आस्था बोकेकाहरूको मन भुलाउछ ।

‘सो क्षेत्र धार्मिक स्थल समेत भएकाले गुफा परिसरमा शिबको मूर्ती समेत राख्ने योजना छ’ संस्थाका सदस्य ढकालले भने ‘यी सबै कार्यका लागि इलामनगरपालिका वडा नम्बर ६ ले पाँचलाख रुपैंयाँ बजेट बिनीयोजन गरेपनि आठलाख बढि खर्च हुने अनुमान संस्थाको छ ।’

प्रतिक्रिया दिनुहोस्