‘स्वतन्त्र तराई निर्माण सेना’ का कमाण्डर एसएमजीसहित पक्राउ

0
Shares

सिरहा, सिरहाको गोलबजारबाट सर्ट मेसिन गन (एसएमजी) सहित एक जना पक्राउ परेका छन । आज बिहान २ बजेको समयमा विशेष सुराकीको आधारमा अभियुक्त पक्राउ गरिएको हो ।

प्रदेश २ प्रहरी कार्यालय जनकपुर, संघीय प्रहरी इकाई कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सिरहा समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले सिराहाको गोलबजार नगरपालिका वडा नं ४ स्थित पूर्व पश्चिम राजमार्गमा सवारी साधन तथा मानिस रोकी चेकजाँच गर्ने क्रममा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स ५ प ३७४१ नम्बरको वाइबिआर मोटरसाइकल रोकी चेक जाँच गर्दा उक्त मोटरसाइकलमा सवार सिराहाको धनगढीमाई नगरपालिका वडा नं ११ छपराडी बस्ने ४६ वर्षीय चतुर नारायण चौधरीले बोकेको कालो रातो रङ्गको ब्याग (झोला) बाट एसएमजी १ थान, म्याग्जिन २ थान, गोली ५ राउन्ड पक्राउ गरिएको हो ।

उनको साथबाट सवारी चालक अनुमति पत्र १ थान, २ वटा सिम कार्ड प्रयोग हुने मोबाइल १ थान र स्वतन्त्र तराई निर्माण सेना, केन्द्रीय ब्युरो लेखिएको पर्चा २ थान फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।

पक्राउ परेका चतुर नारायण चौधरी उपर हातहतियार खरखजना ऐन अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गत पुस ८ गते आइतबार गोलबजार नगरपालिका–४ स्थित नेपाल टेलिकमको टावर नजिक प्रेसर कुकर बम संगसंगै ‘स्वतन्त्र तराई निर्माण सेना’को पर्चा भेटिएको थियो ।

प्रहरी स्रोतका अनुसार उनी स्वतन्त्र तराई निर्माण सेना, केन्द्रीय ब्युरोका एक कमाण्डर हुन ।