कृष्णउदास खनाल, वीरगन्ज ।
वीरगन्ज महानगरपालिकाले मंगलबारदेखि हर्न र प्लास्टिक प्रयोगमा निषेध लगाएको छ । अग्रेजी नयाँ सालको अवसर पारेर महानगरलाई सफा राख्न र सभ्य बनाउन हर्न र प्लास्टिकमा निषेध गरिएको हो ।
महानगरको मंसिर १८ गते बसेको कार्यपालिका बैठकले वीरगन्ज महानगरपालिकालाई पुस १७ बाट हर्न निषेध र प्लाष्टिक निषेध गर्ने निर्णय गरेको थियो । त्यही अनुरुप हर्न र प्लास्टिक निषेध गरिएको महानगरपालिकाले जनाएको छ ।
महानगरले मंगलबारबाट अभियान समेत चलाएको छ । महानगरपालिकाले सुरु गरेको यो सचेतना अभियान एक हप्ता चलाउने छ । अभियानमा सहभागीहरुले ‘मेरो धर्ती, मेरो माटो, मेरो आँगन, मेरो बाटो, मै सफा गर्छु, कुर्दिनँ कसैको बाटोलगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए । कार्यक्रममा बोल्दै पहिलो वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भीष्मकुमार भुषालले एक साता सम्झाउने तर अटेर गरेको खण्डमा दण्डात्मक उपाय अपनाउने नीति अख्तियार गरिएको बताए ।
वीरगन्ज महानगरपालिकाले प्लाष्टिक जथाभावी फाल्नेको फोटो खिचेर महानगरपालिकालाई दिएको खण्डमा उसलाई गरिने जरीवानाको २५ प्रतिशत दिने घोषणा समेत गरेको छ ।
महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले वार्षिक १२ करोड खर्च गर्दा समेत महानगरपालिका सफा हुन नसकेकोले अब कारबाहीको बाटो अपनाउने बताए ।











प्रतिक्रिया