विमल बिष्ट, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकालाई सुदूरपश्चिम प्रदेशकै नमुना नगरपालिका बनाईने नगर प्रमुख मञ्जु मलासीले दाबी गर्नु भएको छ । नगरपालिकाको चौथो नगर सभालाई सम्वोधन गर्दै उहाँले जस्तोसुकै परिस्थितीको सामना गर्नु परेपनि नगरपािलका लाई पाँच वर्ष भित्रमै सुदूरपश्चिम प्रदेशकै नमुना नगरपालिका बनाएरै छोड्ने बताउनु भएको हो ।
उहाँले भन्नुभयो–‘नगरपालिकाको बजेटबाट होस् वा दाताहरुको आर्थिक सहयोगमा होस् स्रोत खोजेरै भएपनि नमूना नगरपालिका बनाएरै छोड्छु ।’ नगरपालिकाका भित्रका हरेक सम्भावनाहरुलाई अवसरका रुपमा लिएर विकासमा जोड दिईने उहाँले बताउनु भएको छ । नगरपालिकाको विकासका लागि भौतिक निर्माणका साथै अन्य विकासका कामलाई जनभावना अनुरुप तिव्रता दिने उहाँको भनाई छ ।
सम्बोधन का क्रममा उहाँले नगरपालिकाभित्रका अतिक्रमित सार्वजनिक जग्गा जमिन नगरको स्वामित्वमा लिने, प्राकृतिक स्रोत साधनको सदुपयोग गर्ने, शैक्षिक सुधारका लागि विद्यालय मर्ज तथा इन्जिनियरिङ्ग कलेज, मेडिकल कलेज वा कृषि कलेजमध्ये कुनै एउटा कलेज डोटीमा स्थापना गर्न पहल गर्ने, बजार क्षेत्रमा सडकलाई अँझै व्यवस्थित गर्ने, वसपार्क, उद्यान निर्माण, नगरभित्रका ऐतिहासिक धार्मिक साँस्कृतिक पर्यटकीय क्षेत्रको संरक्षण संवद्र्धन गर्ने, वडा,वडामा खेल मैदान निर्माण गर्ने, सडक, बत्ती, खानेपानी सबै बस्तीमा विस्तार गर्ने, स्वास्थ्य र सररफाईमा जोड दिने, कृषिका सम्भावनाहरुलाई पकेट क्षेत्रका रुपमा विस्तार गर्दै लैजाने लगाएतका कुरालाई प्राथमिकतासाथ अगाडी बढाउने नगरपालिकाकाको पहिलो यजेन्टा रहेको बताउनु भयो ।
नगरसभामा प्रमूख अतिथिका रुपमा बोल्दै डोटी जिल्ला समन्वय समिति संयोजक रामबहादुर ऐरले डोटीको दिपायल सिलगढी नगरपालिकाले गरेका काम अरुले सिक्ने खालको रहेको भन्दै प्रशंसा गर्नुभएको थियो । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथी तथा डोटीका प्रमूख जिल्ला अधिकारी यादव सुवेदीले अहिलेका स्थानीय तहलाई निति, नियम निर्माण, जनभावना अनुरुप तिव्र रुपमा काम सम्पन्न गर्नुपर्ने र भ्रष्टाचार मुक्त बनाउनुपर्ने तीन वटा चुनौति रहेको र सोहि अनुसार काम गर्न आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै सो नगरपालिकाका पूर्व मेयर पूर्णराज जोशीले नगरपालिकाका लागि बजेट र अवसर राम्रै भएकाले स्रोतको योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै अर्का वक्ता गैर सरकारी सँस्था महासंघ डोटीका अध्यक्ष रघु कठायतले नगरपालिकाको विकासका लागि सामाजिक संघसँस्थाहरु पनि साथमा रहने वचनवद्धता दिनुभयो । नगर सभामा पछिल्ला ६ महिनामा नगरपालिकाले गरेका योजना तथा खर्चको समिक्षा पनि गरिएको छ । दिपायल सिलगढी नगरपालिकाले २५ वर्षे रणनिति बनाएर काम गर्ने योजना अनुसार गुरुयोजना निर्माण गरिरहेको नगरपालिकाका कार्यकारीअधिकृत भोजराज शर्माले बताउनु भयो ।
फोटो क्याप्सन ः डोटीको दिपायल सिलगढी नगरपालिकाको चौथो नगर सभा उद्घाटन गर्नु हुदै जिल्ला समन्वय संयोजक राम ऐर । विमल बिष्ट÷डोटी











प्रतिक्रिया