नेपाल समाचारपत्र, पर्वत
उत्तर दक्षिण जोड्ने कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा अलपत्र परेका निर्माणाधिन दुई पुलको निर्माण कार्य शुरु भएको छ । अलपत्र परेका पर्वतको कुश्मा–५ को मोदीखोला र फलेवास नगरपालिका–१० कुर्घाको लमायखोलाको पुल निर्माण कार्य शुरु भएको हो।
ठेकेदारले समयमा काम नथाल्दा निर्माणाधिन दुईवटा पुल अलपत्र परेका थिए । मोदीखोलामा काम गर्न ठेकेदार कम्पनीले काम थालिसकेको छ भने लमायखोलाको पुल बनाउन ठेकेदार कम्पनीले नयाँ प्रक्रिया सुरु गरेकोे छ । ६० मिटर लम्बाइको मोदीखोलाको पुल ९ करोड १४ लाखमा मुक्तिनाथ कन्स्ट्रक्सनले ठेक्का सम्झौता गरेको थियो । २५ मिटर लम्बाइको लमायखोला पुल ५ करोड ६४ लाखमा नयाँ बाटो गौचन जेभीले जिम्मा लिएका थिए ।
०७४ मंसिरमा निर्माण सुरु गरेर मोदीखोलाको पुलको एकातर्फको पिलर र बीचको पिलर निर्माण हुँदाहुँदै ठेकेदार कम्पनीले काम छाडेको थियो । लमायखोलाको पुल गत वर्ष नै निर्माण सुरु गर्ने सहमति भएको थियो । स्थानीयका अनुसार लमायको ठेक्का लिएको नयाँ बाटो गौचन जेभीले पेटी ठेकेदारलाई जिम्मा लगाएको थियो ।
कुर्घातर्फ पिल्लर खन्ने क्रममा कडा चट्टान परेपछि पेटी ठेकेदार काम गर्न नसक्ने भन्दै सम्पर्क्विहीन भएपछि निर्माण रोकिएको थियो । पुलको निर्माणकार्य लामो समय रोकिएपछि यहाँका सांसद पदम गिरीले ठेकेदारलाई फिल्डमै डाकेर काम छिटो थाल्न निर्देशन दिएका थिए । लोकमार्ग आयोजना कार्यालयका अनुसार लमायको पुलको एकातर्फ कडा चट्टान परेका कारण सुरुको सर्वेमा आधारित डिजाइन परिवर्तन गर्नुपरेको थियो । ‘पहिलाको डिजाइन फेल भएछ,’ इन्जिनियर अर्जुन नेपालीले भने, ‘पछि नयाँ ढंगबाट काम गर्ने गरी सहमति भएर काम सुरु गर्न दबाब दिएका छौं ।’
मोदीको पुल निर्माणको जिम्मा लिएको मुक्तिनाथ कन्स्ट्रक्सनका सञ्चालक ओम गौचनले काम अलपत्र छोडेर बेपत्ता नभएको दाबी गरे । ‘हामी बेपत्ता भएका हैनौं,’ उनले भने, ‘मोदीमा पानीको सतह बढेका कारण केही समय काम रोकिएको मात्रै हो । अब नियमित हुन्छ ।’ मोदीखोलामा पुल डिजाइन गर्दा प्राविधिक त्रुटि भएका कारण पनि समयमै काम सक्न समस्या भएको उनले बताए ।











प्रतिक्रिया