गंगामायाको अधिकारको रक्षा गर



छोराको हत्यारालाई कारबाहीको माग गर्दै लामो समयदेखि अनशन बस्दै आएकी गंगामाया अधिकारीको जीवन रक्षामा सरकार उदासीन बन्दै गएको छ। छोराको हत्यारा पत्ता नलागेसम्म अनशन नतोड्ने अडान कायम राख्दै आएकी गंगामायाको अनशन सरकारले तोडाए पनि उनले अनशनस्थल वीर अस्पताल अझै छोडेकी छैनन्। सरकारले १ करोडको कोष खडा गरेर त्यसबाट आउने ब्याजबाट जीवन निर्वाहका लागि प्रदान गर्ने गरी अनशन तोडाएको थियो। तर पनि गंगामायाले छोराको हत्यामा संलग्नलाई कारबाही नभएसम्म आफूले अनशन स्थल नछाड्ने अडान लिएकी छिन्। यस अवस्थामा सरकारले गंगामायाको व्यवस्थापनमा ध्यान दिन नसक्नु सरकारको लाचारीपन हो।

छोराको हत्यारालाई कारबाहीको माग गर्दै अनशन बसेका गंगामायाका श्रीमान् नन्दप्रसाद अधिकारीको अनशनस्थलमै निधन भइसक्दा पनि सरकार भने यो समस्याको समाधानमा नलाग्नुले सरकार कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाहीको दायरामा ल्याउन चाहँदैन भन्ने पुष्टि भएको छ। मानवअधिकारको नाममा सडकमा उफ्रने अधिकारवादीहरू पनि यस मामिलामा गम्भीर भएको देखिँदैन। अन्य विषयमा सडकमा देखिने अधिकारवादी भनाउँदाहरू यस्ता गम्भीर विषयमा सरकारलाई दबाब दिन हिचकिचाउनुले पनि गंगामायाको अधिकार ओझेलमा परेको छ। सरकार गंगामायाको अधिकारको रक्षा गर्न ध्यान देऊ।
– बिजिता थापा रिजाल, कलंकी, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्