निर्मला हत्याकाण्डः अनुसन्धानमा नयाँ पात्र खोज्दै प्रहरी



मनोज भट्ट, महेन्द्रनगर ।
निर्मला पन्तको बलात्कारपछि हत्या भएको पाँच महिना पुरा भएको छ । गृहकार्य गर्न साथीको घर जान्छुँ भनेर गएकी भीमदत्त नगरपालिका–२ की १३ वर्षीय बालिका पन्तको अर्को दिन बलात्कार पछि हत्या गरिएको अवस्थामा साथीको घर नजिकको उखुवारीमा शव भेटिएको थियो ।

घटना भएको ५ महिना बितिसक्दा पनि अनुसन्धानको प्रगति भने शून्यमै रहेको छ । घटनाको ५ महिना अवधिमा प्रहरीले हत्यारा पत्ता लगाउन गरेको प्रयास बिफल भएका छन् । प्रहरीलाई अहिले सम्म पनि हत्यारा नजिक पुग्ने कुनै ठोस प्रमाण हात पार्न नसेको स्रोतको भनाई छ ।

निर्मलाको शव भेटिएको दिन साउन ११ देखिनै अनुसन्धानमा जुटेको कञ्चनपुर प्रहरीले अहिलेसम्म घटनामा संलग्न अपराधीबारे कुनै ठोस प्रमाण जुटाउन सकेको छैन । अनुसन्धानामा कञ्चनपुर प्रहरीलाई सीआईबीको टोलि संगै अन्य टिमले सघाई रहेको छ ।

निर्मला हत्याकाण्ड प्रहरीका लागि निकै पेचिलो घटना भइरहेको बेला घटनाकोे अनुसन्धानका लागि ७ समिति गठन भए पनि सफल हुन सकेका छैनन् ।
पछिल्लो समय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलिले काठमाडौँबाट प्रक्राउ गरेको भीमदत्त नगरपालिका–१८ का प्रदिप रावलले साबिती बयान दिएको भन्ने तथ्य बाहिर आएपछि प्रहरी हत्यारा नजिक पुगेको संकेत गरेको थियो ।

तर उनको बयानपछि काठमाडौँ झिकाइएका भीमदत्त नगरपालिलका–१८ का उनका सहकर्मी दिनेश र बिशाल चौधरी भने प्रहरीको अनुसन्धान पछि छुटेका छन् । डर, धम्कि र प्रलोभन देखाएर हत्या कबुल गर्न नगाएको बिशालको भनाई छ । प्रदिपलाई अहिले पनि छोडिएको छैन । उनि माथि सुक्ष्म अनुसन्धान भइरहेको स्रोत बताउँछ ।

अनुसन्धानका लागि नयाँ पात्रको खोजी गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ । डिएसपी कृष्णराज ओझाले शंकास्पद व्यबहार भएकाहरु माथी सोधपुछ गरेर नयाँ पात्रको खोजीमा रहेको बताएका छन् । उनले भने, ‘ हामी अनुसन्धानमैँ छौँ, निष्कर्षमा पुगिसकेको छैनौँ, शंकास्पदहरुलाई सोधपुछ गरिरहेकाले नयाँ पात्रको खोजी भइरहेको छ ।’

घटनाको अनुसन्धानमा आफुहरु रातदिन नभनि लागेकोले परिणाम छिट्टै निस्किने उनको भनाई छ । घटनामा कुनै निर्दोषलाई फसाउने काम नभएको उनको दाबी छ । बिशाललाई अभिभावकसहित काठमाडौं पठाएको तर उनलाई यहाँ कुनै यातना दिने काम नभएको उनको भनाई रहेको छ ।

उनले भने, ‘हामीले माथिबाट बोलाइपछि उनलाई पठाएका हौँ, यहाँ उसलाई यातना दिने कुनै काम भएको छैन, हामी यहाँ कुनै अप्रिय शब्द समेत बोल्दैनौँ, कुटपिटको त कुरै छोड्नुस ।, माथी के भयो हामीलाई त्यसको जानकारी भएन ।’

यस्तै उनले डिएनए रिपोर्ट जिल्ला प्रहरी कार्यालय कञ्चनपुर नपुगेको बताए । यसैमा उनले थपे, ‘आजका दिनसम्म डिएनए रिपोर्ट यहाँ पुगेको छैन, कहिलेसम्म आउँछ भनेर हामीले माथी सोध्न मिल्दैन ।’

अनुसन्धानका क्रममा प्रमाण नष्ट गर्ने र निर्दाेषहरूलाई यातना दिन प्रहरीेविरुद्ध दिइएको जाहेरी दर्ता भएर अनुसन्धान प्रक्रियामा गएको डिएसपी ओझाले बताए । सार्वजनिक न्यायविरुद्धको कसुरमा निर्मलाकी आमा दुर्गादेवी र यातनासम्बन्धी कसुरमा दिलीप विष्टका दाइ खडक विष्टले गत सोमवार जाहेरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्