दशगजामा भारतीयको दादागिरी



नेपाल समाचारपत्र, विराटनगर ।

मोरङको जहदा गाउपालिका १ कालाबञ्जरस्थित नेपालभारतको सिमाक्षेत्र दशगजामा भारतीय पक्षले नियम विपरीत सडक निर्माणगर्न थालेको छ ।

अन्तरराष्ट्रिय सन्धि सम्झौता विपरीत एकपक्षियरुपमा निर्माण शुरु गरिएको सो सडक निर्माण भए नेपालतर्फका बस्तीहरु डुबानमा पर्ने देखिएको छ ।

भारत विहार राज्यको अररिया जिल्ला कुशमाहा गा्रमपञ्चायत ४ को आमगाछी मुसहरी बस्तिहुंदै दशगजामा ५ सय मिटर बढीक्षेत्रमा माटो थुपारेर सडक निर्माण गरिएको छ ।

सो ठांउमा पारीपट्टि भारत अररियाको आमगाछि मुसहरी बस्ती र नेपालतर्फ जहदा गांउपालिका १ को कालाबञ्जर बस्ती छ । विहार राज्यका बिधायक मनचन केसरीको बिधायक फण्डबाट उक्त सडक निर्माण सुरु गरिएको भारतीयक्षेत्र आमगाछि मुसहरी बस्तीका उमेश सदाले बताए ।

 

दशगजामा रहेको १७४ नम्बरको पिलरभन्दा ५ सय मिटर वरसम्म एक्साभेटरले खनेर सडक निर्माण गरिएको छ । एकसता अघिबाट सडक निर्माण भइरहेको जानकारी प्राप्त भएपछि जहदा गाँउपालिका १ का वडा अध्यक्ष प्रदिपचन्द यादवको पहलमा सडक निर्माण तत्कालकालागि रोकिएको छ ।

 

सडक निर्माण भइरहेको जानकारी पाएपछि शनिबार सो ठांउपुगेका यादवले तत्काल सशस्त्र प्रहरी बेश बुधनगर र इलाका प्रहरी बुधनगरलाई जानकारी गराएर सडक निर्माण रोक्न लगाएका थिए ।

दशगजामा सडक निर्मााण गर्नै नमिल्ने अबस्थामा पनि भारतीय पक्षले जबर्जस्ति सो सडक निर्माण शुरु गरेको देखिएको छ । सो ठांउमा सडक निर्माण भएपछि लोहन्द्रा र जुडी खोलाको पानी बर्षायाममा थुनिएर जहदाको वडा १ र विराटनगर महानगरपालिकाको वडा नम्बर १७ र १४ पनि जलमग्न हुने स्थानियले जानकारी दिएका छन ।

सो ठांउमा नेपालतर्फ दशगजा क्षेत्र विद्यमान रहे पनि भारतीय किसानहरुले दशगजा मासेर खेती समेत गर्दै आएका छन । वडाध्यक्ष यादवबाट सुचना पाएपछि संघीय समाजवादी फोरम नेपालका मोरङ अध्यक्ष राजकुमार यादवलगायतका नेता कार्यकत्र्ताले समेत सोमबार बिहान दशगजा पुगेका छन ।

मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले दशगजा अतिक्रमण भएको बिषयमा जानकारी आइसकेको बताए । काउण्टर पार्टससंग छलफल गरेर दशगजाक्षेत्र खाली गराइने उनको भनाई छ ।

सशस्त्र प्रहरी सुरक्षा बेस बुधनगरका सशस्त्र प्रहरी निरीक्षक भूप खडका र इलाका प्रहरी कार्यालय बुधनगरका प्रहरी नायब निरीक्षक सूर्यनारायण माझीले आपूmहरुले दशगजामा सडक निर्माण गरेको जानकारी हुने बित्तिकै माथिल्लो निकायमा जानकारी गराएको बताए ।

माथिल्लो निकायबाट सडक निर्माण कार्य रोकेर निगरानी गर्न निर्देशन आए बमोजिम निगरानी गर्ने कार्य भइरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्