टिप्परको ठक्करबाट एक वृद्धको मृत्यु



सीताराम चौधरी, कपिलवस्तु ।

बसबाट पिसाब फेर्न ओर्लेकी वृद्धालाई टिप्परले ठक्कर दिंदा कपिलवस्तुमा एक जेष्ठ नागरिकको ज्यान गएको छ । जिल्लाको शिवराज नगरपालिका १, बनकसबासा जंगलमा बसबाट पिसाब फेर्न ओर्लिएर बाटो क्रस गर्ने क्रममा ८५ वर्षीय वृद्धलाई टिप्परले ठक्कर दिएको हो ।

दाङबाट बुटवलतर्फ जाँदै गरेको ना ५ ख २१७१ नम्बरको बसबाट वृद्ध फिसाब फेर्न ओर्लेका थिए । बाटो क्रस गर्ने क्रममा सोही दिशाबाट आउँदै गरेको लु १ ख ५४९५ नम्बरको टिप्परले ठक्कर दिएको हो । ठक्करबाट वृद्धको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

ठक्कर दिने टिप्पर र चालकलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक महेश्वर उपाध्यायले जानकारी दिनुभयो । मृतकको अझैसम्म सनाखत हुन सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको उपाध्यायले जनाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्