मुसिकोटका दुई वडामा अनलाइन पञ्जीकरण सुरु



धनवीर दाहाल, रुकुम ।
जिल्लाको मुसिकोट नगरपालिकाले पहिलो पटक अनलाइन प्रणालीमा पञ्जीकरणको काम सुरु गरेको छ । सोमबारदेखि नगरपालिकाको ४ र ६ नम्बर वडा कार्यालयले अनलाइनमै फाराम भरेर व्यक्तिगत घटना दर्ताको सुरुवात गरेको हो ।

यो प्रणालीको सुरुवात भएपछि अब यी वडा भित्र बसोबास गर्ने हरेक नागरिकले डिजिटल जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ताका प्रमाणपत्र प्राप्त गर्ने नगरपालिकाले जनाएको छ । अनलाईनमा पञ्जीकरण सुरु भएसँगै वडा कार्यालयका विभिन्न प्रमाणपत्र तथा महत्वपूर्ण कागजात हराउने तथा च्यातिने समस्याको अन्त्य भएको छ ।

यसबाट पञ्जीकरण सम्बन्धी वडाका अभिलेखहरु राख्न सहज हुने भएको छ । अनलाइनमा पञ्जीकरण सेवा सुरु गरेको पहिलो दिनमै मुसिकोट नगरपालिका –४ का रिना बोहरा र विजय बोहराले यसैमार्फत जन्मदर्ता गराएका छन् ।

सहज र सुलभ सेवा प्रवाह गर्नका लागि अनलाइन पञ्जीकरणको व्यवस्था गरिएको मुसिकोट नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष निर्मलकुमार पुनले बताउनुभयो । नगरपालिकाका सबै वडामा यो सेवा विस्तारका लागि पूर्वाधारको तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्