एनआरटीलाई जितको स्वाद



नेपाल समाचारपत्र
काठमाडौं
न्युरोड टिम (एनआरटी) ले जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जितको स्वाद चाखेको छ।

शुक्रबार हल्चोकस्थित सशस्त्र प्रहरीको मैदानमा भएको खेलमा एनआरटीले जावलाखेल युथ क्लबलाई २–१ ले हराएको हो। पहिलो खेलमा आर्मीसँग २–२ खेल्दै शानदार सुरुआत गरेको एनआरटीले त्यसपछि लगातार ८ खेलमा हार बेहोरेको थियो। यो क्रम १०औं खेलमा आएर तोडिँदा टोलीले पहिलोपटक स्पष्ट ३ अंक जोडेको छ। यसको बाबजुद टोली ४ अंकसहित पुछारमै रहेको छ।

एनआरटीलाई जित दिलाउन कोभासी डिडियर युवे र सुशील लामाले गोल गरेका थिए। डिडियरले ३४औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। पहिलो हाफमा १–० ले अग्रता लिएको एनआरटीका लागि सुशीलले दोस्रो हाफमा गोल थपेका थिए। उनले ५७औं मिनेटमा गोल गरेर २–० ले अगाडि पार्दै सुरक्षित स्थितिमा ल्याएका थिए। दुई मिनेटपछि जावलाखेलका लागि सुमन डंगोलले गोल गरेपछि खेल रोमाञ्चक बन्न पुगेको थियो। बाँकी समय गोल नहुँदा एनआरटीले लिगमा पहिलो जित हासिल गर्यो।

यस्तै मच्छिन्द्र क्लबले पनि जारी लिगमा पहिलो जित हासिल गरेको छ। सरस्वती युथ क्लबलाई ४–२ गोलअन्तरले हराएर मच्छिन्द्रले पहिलोपटक पूरा ३ अंक जोड्यो। योसँगै टोली ६ अंकसहित ११औं स्थानमा रहेको छ। त्यसो त टोली आत्मघाती गोलसँगै खेलको चौथो मिनेटमै पछाडि परेको थियो। १६औं मिनेटमा कप्तान विशाल राईले गोल गर्दा मच्छिन्द्र १–१ बराबरीमा आइपुग्यो।

त्यसपछि ५ मिनेटमा २ गोल थपेर मच्छिन्द्र ३–१ को राम्रो स्थितिमा पुगेको थियो। २०औं मिनेटमा भासाडिया डाइमान्डेले र २५औं मिनेटमा अनिल गुरुङले गोल गरेका थिए। ३६औं मिनेटमा जावलाखेलका लागि फ्रान्सिसले गोल फर्काएर अग्रता खुम्च्याए। अन्तिममा इन्जुरी समयमा प्राप्त पेनाल्टी किकलाई वैकल्पिक खेलाडी विकास राईले गोलमा परिणत गरेपछि टोलीको जित पक्का भएको थियो। यसअघि सविन खड्का र फ्रान्सिसले गोल गर्ने सुन्दर अवसर खेर फाल्नु पनि नतिजा मच्छिन्द्रतिर जाने कारक बनेको थियो।

यसै गरी अर्को खेलमा हिमालयन शेर्पालाई २–१ ले हराउँदै फ्रेन्डस् क्लबले जारी लिगमा दोस्रो जित हात पार्यो। खेल १–१ बराबरीतिर अग्रसर भइरहेको स्थितिमा ८०औं मिनेटमा हिमालयन शेर्पा १० खेलाडीमा सीमित भएको थियो। आशिष गुरुङले सन्जोग महर्जनलाई लात हानेपछि रातो कार्ड बेहोर्दै बाहिरिएका थिए। यसले हिमालयन शेर्पालाई महँगो सावित गर्यो। ८८औं मिनेटमा काउन्टर एट्याकमा जीवन गुरुङले गोल गर्दै फ्रेन्डस्को जित पक्का गरेका थिए।

त्यसो त गोहा पेट्रिकले २७औं मिनेटमा गरेको गोलमार्फत हिमालयन शेर्पाले १–० ले अग्रता लिएको थियो। कर्ण लिम्बुको थ्रो प्रहारमा गोहाले नजिकैबाट प्रहार गरेका थिए। जुन बल बचाउन प्रयास हुँदा हुँदै पनि गोलमा परिणत भएको थियो। यसको एक मिनेटपछि सन्जोगले गोल गरेर खेल १–१ बराबरीमा पुर्याएका थिए। योसँगै हिमालयन शेर्पा १४ अंकमै अड्केको छ भने फ्रेन्डस्को ८ अंक भएको छ।

प्रतिक्रिया दिनुहोस्