चिसोमा विपन्न कसरी बाँच्ने ?



दलित तथा विपन्न परिवारका जनतालाई लक्षित गर्दै सरकारले जनता आवास कार्यक्रम अघि बढाए पनि यसको कार्यन्वयन सहीरूपमा हुन नसकेको भन्दै विभिन्न जिल्लाबाट गुनसोसहितका खबरहरू बाहिर सार्वजनिक भएको छ। कार्यक्रमको प्रभावकारी कार्यान्वयन नहुँदा यो चिसो मौसममा झन् बढी सास्ती बेहोर्नुपर्ने देखिन्छ। बास नहुँदा पनि मानिसले चिसो मौसममा ज्यानै जान सक्ने सम्भावनाबाट गुज्रिनुपर्ने पनि हुन्छ। कतिपय स्थानमा मन्त्रालयले जिल्ला संयोजक तोक्न नसक्दा झन् कार्यक्रमले गति लिन सकेको छैन। सरकारले राम्रो घर बनाइदेला र बसौंला भन्ने आशामा रहेका दलित समुदाय तथा विपन्न परिवारका दर्जन परिवार चर्को पुसको जाडोमा बिचल्लीमा परेका छन्।
सरकारले सुरक्षित घर बनाइदिने आश्वासन पाएका उनीहरूले घर भत्काउन राजी भए पनि भत्केको छ महिना कटिसक्दासम्म नयाँ घर नबनेपछि मंसिर–पुसको शीतलहर र कठ्याङ्ग्रिँदो चिसोमा खुला आकाशमुनि कहर काट्न बाध्य हुनुपरेको गुनासो पीडितहरूको छ। घर बनाइदिने भन्दै पहिले भएको झुप्रो पनि सबै भत्काइदिए। तर, यतिका दिनसम्म नयाँ घर पनि नबनाइदिएपछि जाडोमा मर्नु न बाँच्नुको अवस्था आएको पीडितहरूको भनाइ छ। दिउँसो घाम लागेका बेला तापेर बसे पनि रात परेपछि खुल्ला आकाशमुनि बस्नुपर्दा शीत र चिसोले प्रत्येक घरका बालबालिका र वृद्धवृद्धामा बिरामीको संक्रमण बढ्न थालेको छ। सरकारको यो विषयमा गम्भीर ध्यान जाओस्।
– अमृत लामिछाने, नवलपरासी।

प्रतिक्रिया दिनुहोस्